बुधबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ३.०१ अंकले घटेर १६९८.९० अंकमा कायम भएको छ । जलविद्युत्, विकास बैंक र बैंकिङ समूहले बुधबारको बजार घटाएका छन् । यी समूहहरु क्रमशः २३.९४, १३.६९ र ५.६१ अंकले घटेका छन् । बीमा समूह सबैभन्दा धेरै ६२.५८ अंकले बढ्दा होटल ४२.६८ अंकले बढेको छ भने फाइनान्स र अन्य क्रमशः १.३१ र १.१६ अंकले बढेका छन् ।
बजार ओरालो लागेपछि कारोबार भने निरन्तर उकालो लागिरहेको छ । लामो समयको अन्तरालपछि बुधबार कारोबार रकमले एक अर्ब नाघेको छ । एक सय ३४ वटा कम्पनीको १० लाख सात सय २७ कित्ता सेयर चार हजार छ सय ९१ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब १९ करोड ५४ लाख ७८ हजार पाँच सय २४ रुपैयाँको कारोबार भएको हो । मंगलबार ८० करोडको कारोबार भएको थियो ।
एभरेष्ट बैंकको मात्रै ३८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको २२ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । गरिमा विकास बैंकको पाँच करोड २० लाख रुपैयाँको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल एसबीआई बैंकको दुई करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । एनएमबी बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेसन, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सिद्धार्थ बैंक, शिखर इन्स्योरेन्स लगायतको एक करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ ।
सृजना फाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा अरुण भ्याली हाइड्रोका सेयरधनीले ७.४८ प्रतिशतले सम्पत्ती बढाएका छन् । सबैभन्दा धेरै कारोबार भएको एभरेष्ट बैंकका सेयरधनीले २.४० प्रतिशतका दरले कमाएका छन् भने नेशनल लाइफ इन्स्योरेन्सका सेयरधनीले ५.६७ प्रतिशतले कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, वरियन्टल होटल, मिरमिरे माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् ।
आइएलएफसीओ माइक्रोफाइनान्सका सेयरधनीले ९.०९ प्रतिशतले गुमाउँदा महिला सहयात्रा लघुवित्तका सेयरधनीले ७.४० प्रतिशतका दरले गुमाएका छन् । रुरल माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी र साझा विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । अल्पाइन डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, जनउत्थान सामुदायिक लघुवित्त, सिन्धु विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



