Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पैसाको संकट चुलियो सीमावर्तीमा : भारु छ, चल्दैन

२०७३ कार्तिक ३० गते

indian-currencyभारत सरकारले पाँच सय र एक हजारका भारतीय रुपैयाँका नोट नचल्ने निर्णय गरेपछि नेपालका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । विशेषतः भारतसँग सीमा जोडिएका भेगका नेपालीहरु भारत सरकारको एक्कासि आएको निर्णयबाट मारमा परेका छन् । सीमा क्षेत्रसँग जोडिएका बजारमा पाँच सय र हजार भारुका नोट धेरै भएपनि ती नोट साट्न नेपाली नागरिकलाई समस्या भएको छ । भारत सरकारले बैंकमार्फत नोट साट्न सकिने जनाए पनि धेरैजसोको भारतीय बैंकमा खाता नहुँदा नोट साट्न समस्या भएको हो । भएको नोट नचल्ने भएपछि सीमावर्ती क्षेत्रमा पैसाको संकट चुलिएको छ ।

भारतबाट केही दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि धनगढीमा अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थीले खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।” उनीसँग नेपाली रुपैयाँ छैन । भारु पनि सटही नभएपछि उनलाई घर कसरी पुग्ने भन्ने चिन्ताले सताएको छ । यति मात्र हैन धनगढीमा खान र बस्न समेत उनलाई समस्या परेको छ ।  

भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गरे । “भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने ? उहाँले प्रश्न गरे ।

त्यस्तै, भारतको दिल्लीमा रोजगारीपछि घर फर्केका श्रीकोटका प्रेम विष्ट पनि नोट नसाटिँदा समस्यामा परेका छन् । “आफूँसँग पाँच सय र एक हजारका नोट मात्रै छन्”, उनले भने, “नोट नचल्ने खबरले समस्या भएको छ ।”

बैतडीको तल्लोस्वराड गाविसमा त झन् भारतीय रुपैयाँमा मात्रै कारोबार हुने गरेको छ । केही पढेलेखेका बाहेक अन्यलाई त नेपाली रुपैयाँ कस्तो हुन्छ भन्ने नै थाहा छैन । सदरमुकामबाट दुई दिनको पैदल यात्रापछि पुगिने उक्त क्षेत्रनजिक पछिल्लो समय सडकको पहुँच पुगेको छ । बैतडीको दुर्गम स्थलमध्येको एक यो क्षेत्रमा नेपाली मुद्रा नै चल्दैन । यहाँ हरेक कारोबार भारुमा हुन्छ । यसबाहेक जिल्लाको कुलाउ, पञ्चेश्वर, महाकाली, शर्मालीलगायतका गाविसका स्थानीयहरूको दैनिक किनबेच नै भारतीय बजारबाट हुने गरेको छ । अहिले भारतीय मुद्रा नै नचल्ने भएपछि यस क्षेत्रका नागरिकलाई झन् समस्या भएको कुलाउका तारा चन्दले बताए । 

सर्वसाधारण यसरी मर्कामा परिरहेका बेला व्यापारीहरु भने मौकाको फाइदा उठाउने सोच पालेर बसेका छन् । बैतडीको सीमा क्षेत्र झुलाघाटमा व्यापारीले पाँचसय तथा हजार भारुका नोट साट्न नमानेको व्यापारी नारायणदत्त भट्टले जानकारी दिए । व्यापारीले पनि नोट साट्नका लागि कमिसन माग्ने गरेका छन् । व्यापारीले पाँच सयको एउटा नोट साट्दा एक सय र एक हजारको एउटा नोट साट्दा दुई सयसम्म कमिसन खाने गरेको पीडितहरुको गुनासो छ । 

सीमावर्ती क्षेत्रका प्रायः मानिसहरु भारतमै काम गर्छन् र कमाई पनि भारुमै गर्छन् । त्यस्तै, दैनिक किनमेल तथा आर्थिक कारोबार पनि प्रायः उनीहरु भारतीय बजारमा नै गर्ने गर्छन् । यस्तो अवस्थामा ठूला दरका भारतीय नोटमा एक्कासी प्रतिबन्ध लगाउँदा यस क्षेत्रका नेपालीहरुलाई समस्या भएको छ । भारतमै काम गरेपछि त्यहाँ बैंक खाता खोल्न निकै झन्झट हुने भएकाले भारतमा काम गर्न जानेहरुले नेपालबाटै भारुको बन्दोबस्त गरेर जाने गरेका छन् । व्यापारीहरुले समेत सर्वसाधारणको बाध्यताको फाइदा उठाउँदै चर्को शूल्क लिएर नोट साटिदिन थालेपछि समस्या झन् चुलिएको छ ।

नेपालमा ५ सय र एक हजार दरका भारतीय नोट यति नै छ भन्ने यकिन छैन । तर, सीमावर्ती क्षेत्रमा भारु नै कारोबार हुने भएकाले धेरै मात्रामा सो दरका नोट हुन सक्ने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुकमा भने साढे तीन करोड रुपैयाँ बराबरका सो दरका नोट रहेको राष्ट्र बैंकले पुष्टी गरेको छ ।