
कृष्ण बाबु घिमिरे
हिजोआज आफूले काम गर्ने संगठनप्रति अधिकांश खुसी भएको खासै सुन्न पाइँदैन । सामाजिक सञ्जालमा मुख्यतया बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले आफ्नो संस्थाप्रति वितृष्णा भएको कुरा सेयर गरिरहेको पाइन्छ ।
हुन त आफूले काम गर्ने संगठनप्रति कोही पनि खुसी हुँदैनन् । उनीहरु अरुको कामप्रति भने सकारात्मक भएको महसुस गर्दछन् । आफ्नो काममा हरेक कुरामा असन्तुष्टि, समस्या, कमी, अभाव मात्र महसुस गर्ने गर्दछन् । तसर्थ, आफ्नो संगठनप्रति कटिबद्ध भएर लागेको पाइँदैन ।
मेहनती तथा जेहन्दार कर्मचारी सधैँ अग्रगामी साेच राखेका हुन्छन् । तसर्थ, भोलि अझ राम्रो हुने आशामा संस्था परिवर्तन गर्ने वा देश नै छोडेर जाने लहर चलिरहेको छ । जसरी एउटा काग आफू गोरो नभएकोमा दुखी र हाँस बढी सेतो भएकोमा असन्तुष्टि हुन्छन्, त्यसरी नै आफू आवद्ध संगठनमा कोही पनि सन्तुष्टि भएको पाइँदैन । तर कर्मचारीहरुको संगठनप्रति सकारात्मक व्यवहार भएमा यस्तो असन्तुष्टि केही हदसम्म कम हुनेछ, काम गर्ने उत्प्रेरणा जाग्ने छ, सकारात्मक, सोंच आउनेछ, खुसी महसुस हुनेछ । एउटै काममा निरन्तर गरिरहौं भन्ने सोच आउनेछ र निरन्तर काममा टिकिरहन सहयोग मिल्नेछ ।
जति काम गर्यो उतिनै गरौ गरौं हुने वातावरण सृजना हुनेछ, संगठन परिवर्तन गर्न आवश्यक ठान्दैनन् । आफू कटिबद्ध भएर लागेपछि संस्थाले स्वयम् सेवा सुविधा बढाउँदै लैजाने आशा हुन्छ र कर्मचारी टर्न ओभर हुने मनशाय गर्दैन । आफ्नो काम र संगठनप्रति सधैँ सकारात्मक भएर लाग्यौं भने संगठनको पनि लक्ष्य प्राप्ति हुने र आफ्नो पनि वृद्धि विकास हुने निश्चित हुन्छ ।
त्यसोभए सकारात्मक संगठनात्मक व्यवहार भनेको के हो त?
संगठनभित्र कर्मचारीको सकारात्मक व्यवहारलाई सकारात्मक संगठनात्मक व्यवहार भनिन्छ । एउटा कर्मचारीले आफू आवद्ध संस्थामा राम्रो व्यवहार गर्दछ, सकारात्मक सोच राख्दछ, परिवर्तनलाई अवसरको रुपमा लिने, सबैसँग राम्रो कुराकानी गर्ने, हसिलो मुख, सधैँ खुसी रहने, काम र कर्तव्यप्रति कटिवद्ध रहने, सहयोग र समन्वय गर्ने, सक्रिय रहने तथा सबैसँग मित्रवत व्यवहार गर्ने कर्मचारीहरूको व्यवहार नै सकारात्मक संगठनात्मक व्यवहार हो ।
सकारात्मक संगठनात्मक व्यवहारको धारणा सकारात्मक मनोविज्ञानमा आधारित छ । अरुसँगको सहयोगी वातावरणले उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम तुल्याउँछ । संगठनको उत्पादकत्व वृद्धि गर्न तथा लक्ष्य हासिल गर्नका लागि कर्मचारीहरूको सकारात्मक संगठनात्मक व्यवहारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
कर्मचारीहरु आपसमा समन्वय र सहयोगी बनी उत्कृष्ट कार्य क्षमता प्रदर्शन गर्नुपर्दछ । यसले कर्मचारीहरूको सक्षमता र कर्तव्यमा ध्यान दिन प्रेरित गर्दछ । उसको कमजोरी र गल्तीतर्फ होइन । के-के कुराहरु भएमा सकारात्मक संगठनात्मक व्यवहार भएको मानिन्छ त ?
आवद्ध संगठनप्रति आशावाद
आशावाद भन्नाले कुनै पनि कुरा भविष्यमा सफलता हुने भरोसा राख्ने मानव प्रवृत्तिलाई जनाउँदछ । सकारात्मक खोज राख्ने सोच राख्ने व्यक्ति आशावादी हुन्छ । यो एक प्रकारको चिन्तन शैली हो, जसले व्यक्तिको राम्रो पक्षमा ध्यान दिन प्रेरित गर्दछ । भविष्य तथा कामको परिणामको सम्बन्धमा असल विचार राख्ने स्वभाव नै आशावादी हो आशावादी हुनाले व्यक्तिले काम छोड्ने निराशापन हुने थकान महसुस हुने जस्ता कुराहरू महसुस गर्दैन ।
आशावादीले सधैँ सकारात्मक कुरा मात्र सोच्ने गर्दछ। आशावादी नहुने व्यक्तिले सधैँ डर तनाव धम्की पश्चाताप जस्ता कुराहरू महसुस गर्दछ । त्यसैले सधैँ व्यक्ति आशावादी हुनुपर्दछ ।
भविष्यमा आफूले सकारात्मक रिजल्ट प्राप्त गर्दछु भन्ने कुरा आशावादी भएर बस्नुपर्ने हुन्छ । आशावादले व्यक्तिलाई उत्प्रेरित र गतिवद्ध भई उच्च कार्य सम्पादन गर्न प्रेरित गर्दछ, प्रशंसा गर्दछ, मिलनसार ब्यवहार साथै उच्च मनोबल र असफलतालाई अस्थायी सम्झने गराउँदछ ।
भविष्यप्रति आशा राख्नु
आशाले भविष्यप्रति आत्मविश्वास गराउँदछ । सकारात्मक संगठनात्मक व्यवहारको अर्को महत्वपूर्ण तत्व आशा हो । मानव जीवनमा सफलता पाउनको लागि आशा अनिवार्य छ र यसले केही काम गर्न प्रेरित गर्दछ । आशाको अभावमा व्यक्ति निराशावादी हुन्छ । ऊ निराश हतास निष्क्रिय र दुखी हुन्छ । आशा सकारात्मक रुपमा उत्प्रेरित अवस्था हो । जब व्यक्तिका कार्यसम्पादनबाट अपेक्षित परिणाम आउने भरोसा हुन्छ ।
आशाले संगठनात्मक व्यवहारलाई सकारात्मक प्रभाव पार्दछ र उत्कृष्ट कार्य सम्पादन तथा लक्ष्य प्राप्तिका लागि कर्मचारीलाई उर्जा प्रदान गर्दछ । यसर्थ, आशावादी कर्मचारी सधैँ सक्रिय सशक्त जागरुकता उत्साही भएर कार्यसम्पादन गर्दछन् ।
आशाले इच्छाशक्ति जागृत गराउँदछ । कर्मचारीहरूको आशाले संगठनभित्र सकारात्मक तरङ्ग ल्याउँदछ कर्मचारीको कार्यसन्तुष्टि वृद्धि गर्दछ । शारीरिक रूपमा तन्दुरुस्त तथा मानसिक रूपमा स्वस्थ बनाउन समेत आशाले सहयोग पुर्याउँदछ ।
आजको मेहनतले भोलि प्रमोशन हुने, पुरस्कृत हुने, ख्याती प्राप्त गर्ने तथा सम्मान पाउने आशाले एउटा कर्मचारीले निरन्तर मेहनत गरिरहेको हुन्छ ।
व्यक्तिगत प्रसन्न/खुसी
जब व्यक्तिलाई जीवनप्रति उच्च सन्तुष्टि रहेको हुन्छ । उच्च सकारात्मक भावना रहन्छ र न्यून नकारात्मक व्यवहार रहन्छ । तब त्यो व्यक्ति खुसी तथा प्रसन्न हुन्छ । मनोवैज्ञानिकहरूले व्यक्तिको व्यक्तिगत प्रसन्नलाई खुसीको रुपमा व्याख्या गरेको छन् ।
आशावादले गर्दा व्यक्तिमा व्यक्तिगत प्रसन्न वृद्धि हुन्छ । तसर्थ, आशावाद तथा व्यक्तिगत प्रसन्नबीच सकारात्मक सम्बन्ध रहेको छ।
यसका लागि व्यवस्थापकले कर्मचारी भर्ना तथा छनोट प्रक्रियादेखि नै आशावादी र खुसी रहन उम्मेदवारलाई प्राथमिकता दिनुपर्दछ । किनकी उनीहरु नयाँ ज्ञान र सीप हासिल गर्न सधैँ तयार रहन्छन् र परिवर्तनलाई सहजै स्वीकार गर्दछन् । त्यस्ता कर्मचारीहरू संगठनका अमूल्य सम्पत्ति हुन् । व्यक्तिगत प्रसन्नले संगठनमा कर्मचारीहरूलाई निम्न प्रभाव पार्दछ ।
भावनात्मक बौद्धिकता
मानिसको आफ्नो भावना र अरूको आवेगलाई नियन्त्रण गर्न सक्ने क्षमता भावनात्मक बौद्धिकता हो । आवेगलाई व्यवस्थापन गर्ने सीप हो । सबै व्यक्तिसँग आवेगमा आएको मानिसलाई सम्झाउने तथा नियन्त्रण गर्ने कला वा सीप हुँदैन ।
तसर्थ, भावनात्मक बौद्धिकता भएकाले सजिलै आवेगलाई नियन्त्रण गर्न सक्दछन् । अरुको भावना उत्तेजनालाई सजिलै बुझ्न सक्ने व्यक्तिको गुणले माया घृणा तथा उत्तेजना नियन्त्रण पनि गर्न सक्दछन् ।
भावनात्मक बौद्धिकता भएको व्यक्तिले अरुसँग मिलनसार रहने मिलेर बस्ने तथा समस्या समाधान गर्न सक्ने क्षमता रहन्छ । तसर्थ, लामो समयसम्म एउटै संस्थामा टिकेर काम गर्न सक्छन् र समस्या समाधान गर्न पनि सक्दछन् ।
आत्म प्रभावकारिता
व्यक्तिको आफ्नो सक्षमताप्रतिको विश्वासलाई आत्म प्रभावकारिता भनिन्छ । आत्म प्रभावकारिता अधिक भएको व्यक्ति यो विश्वास गर्दछ कि उसले आफ्नो काम गर्न सक्षम छु । जसले चुनौतीपूर्ण वातावरणमा पनि आफ्नो जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्दछ, सक्छु भन्ने आत्मविश्वास पैदा गर्दछ ।
आत्म प्रभावकारिताले कर्मचारीको लक्ष्य निर्धारण प्रक्रियामा पनि प्रभाव पार्दछ उनीहरूमा सिक्न सक्ने क्षमता बढी हुन्छ । मेहनती बढी हुन्छन् र कडा परिश्रम गर्न कतिबद्ध रहन्छन् आत्मा प्रभावकारिता त्यस्तो चिज हो । जसमा आफूले गर्ने काम प्रति उक्त कर्मचारी पूर्ण रुपमा विश्वास हुन्छ कि मैले उक्त काम गर्न सक्षम छु। आफ्नो जिम्मेवारी के हो भनेर बुझेका हुन्छन् र समस्या समाधान गर्न सक्दछन ।
आत्म प्रभावकारिता भएको व्यक्तिले आफूले गर्नुपर्ने काम राम्रोसँग बुझेको हुन्छ । आफूले गर्नुपर्ने ड्युटीलाई राम्रोसँग निर्वाह गर्न सक्ने जोश जाँगर र आँट भएको हुन्छ । तसर्थ, यदि कुनै पनि संस्थामा आफूले आफ्नो उभचायचmबलअभ राम्रो देखाउनुपर्ने छ र देखाउन मन छ भने उसले चाहिँ आफूले कतिबद्ध भएर लामो समयसम्म इच्छा शक्ति लगाएर कार्यलयमा काम गर्दछ ।
त्यसो त कर्मचारी को मात्र संगठनप्रति सकारात्मक ब्यवहार भएर मात्र एउटै संस्थामा रहिरहने होइन, कर्मचारीको सकारात्मक व्यवहार साथसाथै संस्थाले पनि कर्मचारीप्रति देखाउने ब्यवहार को समिस्रणले सम्बन्ध टिकाउ हुने हो । कर्मचारीको सकारात्मक संगठनात्मक ब्यवहार सृजनागर्नको लागि आवद्ध संगठनको कार्य वातावरण, नीति, नियमले प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।
कर्मचारीहरु संगठनका दायित्व हुन, श्रमिक मात्र हुन, उत्पादनका साधन हुन भन्ने भावना यदि व्यवस्थापनबाट प्रेसित हुन्छ भने कर्मचारीको संगठन प्रती सकारात्मक व्यवहार हुन सक्दैन । तसर्थ, संगठनले कर्मचारी हाम्रा सम्पत्ति हुन संगठनको लक्ष्य प्राप्तिमा अग्रगामी भूमिका रहन्छ, सधैँ टिकाइरहन आवश्यक छ ।
कर्मचारी टनओभरले संगठनमा ऋणात्मक असर पर्दछ भन्ने सोंच राखी कर्मचारीको मनोबल उच्च बनाई उत्प्रेरित गर्दै कार्य वातावरण सृजना गर्न सके कर्मचारीहरु आशावादी र खुसी भई काममा अग्रसर हुन्छन् । निराशा र असन्तुष्टि पैदा हुने छैन र आवद्ध संस्थामै आफ्नो तन मन लगाएर काम गर्दछन् । जसले गर्दा संस्थाको लक्ष्य प्राप्ति हुन्छ ।
(लेखक घिमिरे बैंकर हुन् । उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैन । )




