नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेका छन । मिडिया इन्टरनेशल र राष्ट्र बैंकको समन्वयमा आयोजित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउने काममा बैंक तथा वित्तीय संस्थाको भूमिका गहन हुने भन्दै त्यसमा लाग्न आह्वान गरेका हुन् ।
भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘वित्तीय साक्षरता बढ्नु नै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्नु हो ।’
बैंक तथा वित्तीय संस्थाको संख्या बाक्लो भएपनि अझै ६० प्रतिशतभन्दा बढी नेपाली बैंकिङ पहुँचभन्दा बाहिर हुनु दुखद भएको बताउँदै गभर्नर नेपालले सबै मिलेर अघि बढ्ने हो भने छिट्टै सबै नेपाली बैंकिङ पहुँचमा आउने दाबी गरे ।
अर्को प्रशंगमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कसैको स्वार्थअनुकुल पारित हुन नहुने बताए । त्यससम्बन्धी कुरा आफुले संसदको अर्थ समितिमा पनि पटक–पटक उठाएको उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकालबारे मस्यौदा राष्ट्र बैंकले लामो छलफल र अध्ययनपछि तयार गरेकाले त्यसलाई परिमार्जन गर्न नहुनेतर्फ उनको जोड थियो ।
त्यस्तै लघुवित्तका लागि निर्धारण गरिएको स्प्रेड दरसम्बन्धी व्यवस्थामा पुनर्विचार नहुने उनले स्पष्ट पारे । ‘हामीले सोचेर, सम्झेर र अध्ययन गरेरै यो निर्णय गरेका हौँ, राष्ट्र बैंकले भनेपछि गर्नुपर्छ, त्यसैले यसमा हामी ब्याक हुँदैन ।’ उनले भने ।
कार्यक्रममा राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवती प्रसाद नेपालले वित्तीय साक्षरताका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘मिडिया इन्टरनेशनलले आफ्नो ठाउँबाट पहल सुरु गरेको छ’, उनले भने, ‘वित्तीय साक्षरता बढाउने हामी सबैको कर्तव्य हो, त्यसैले सबै मिलेर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता बढ्नु बैंक तथा वित्तीय संस्थाकै लागि फाइदाजनक हुने औँल्याए । उनले भने, ‘वित्तीय जागरण अभियानमार्फत हामीले सुरु गरेको वित्तीय साक्षरता कार्यक्रम बैंक तथा वित्तीय संस्थाहरुकै अनुकुल छ, यस कार्यक्रमबाट नागरिकले बैंक बुझ्नेछन्, ‘मनि मुभिलाइजेशन प्रोसेस’ बारे बुझ्छन् र बैंकसँग कारोबार गर्न थाल्छन् ।’ मुलुकमा राजनीति बढी भएको तर आर्थिक रुपमा अघि बढ्न नसकेकाले समृद्धिकै लागि 'वित्तीय जागरण-राष्ट्रिय अभियान' सुरु गरिएको उनले स्पष्ट पारे ।
कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
मिडिया इन्टरनेशनलले बुद्धको जन्मस्थल लुम्बिनीको ग्रामिण क्षेत्र रुद्रपुरबाट ‘वित्तीय जागरण–राष्ट्रिय अभियान’ शुक्रबार सुरु गरेको हो । सो कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले समुद्घाटन गरे । कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको हो भने बैंकर्स संघ, विकास बैंकर्स संघ, लघुवित्त विकास बैंकर्स संघले समन्वय गरेका हुन् । सो कार्यक्रमलाई अब देशैभरि संचालन गरिने मिडिया इन्टरनेशनलले जनाएको छ ।




