Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारु नचल्दा सीमावर्ती क्षेत्रमा सयौँ नेपाली अलपत्र

२०७३ कार्तिक २६ गते

indian-currencyभारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि धनगढीमा अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुगेका थिए । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भने – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।” आफूसँग नेरु नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुखेसो सुनाए । 

भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गरे । “भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने ? उहाँले प्रश्न गरे ।

भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका सयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् । आफ्नो साथमा रहेको भारु १००० र ५०० दरका नोटको सटही हुने/नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिक मारमा परेका छन् । यहाँका चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने÷नहुनेबारे चर्चा गरिएको सुनिन्छ । सीमावर्ती धनगढीलगायतका नेपाली बजारमा भारुको र गौरीफँटालगायतका भारतीय बजारमा नेरुको चलनचल्ती सहज रुपमा हुँदै आएको छ ।

यता नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धक विश्रुत थापाले भारुको १००० र ५०० दरका नोटको कारोबारमा भारत सरकारले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बुधबारदेखि भारुका ठूला दरका नोटको कारोबारमा पनि रोक लगाएको जानकारी दिए । “कालोधन रोक्नका लागि भारत सरकारले यस्तो गरेको हुनसक्छ” – थापाले भने । राष्ट्र बैंक धनगढीबाट १०० दरको भारुको नोट सटही गर्ने काम सदाझैँ शुक्रबार पनि भएको उनले बताए । रासस