साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ७० करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय २९ वटा कम्पनीको १० लाख ६५ हजार तीन सय ५१ कित्ता सेयर पाँच हजार ८४ पटक खरिदविक्रि हुँदा कुल ७० करोड ८० लाख ४२ हजार दुई सय ९८ रुपैयाँ पुँजी परिचालन भएको हो ।
तिहारपछि पहिलो पटक नेप्से परिसूचक हरियो भएको छ । बजार ०.३१ अंकको सामान्य वृद्धिसँगै १६९७.१७ अंकमा कायम भएको छ । होटल, बैंकिङ र अन्य समूहले विहीबारको बजारलाई सम्हालेका छन् । यी समूहहरु क्रमशः ३१.०१, २.२२ र ८.३९ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा भने क्रमशः ९.८८, ०.२८, ५.७६ र ३६.४२ अंकले घटेका छन् ।
कारोबारका आधारमा विहीबार बैंक अफ काटमाण्डू लुम्बिनी अग्रस्थानमा छ, जसको चार करोड ३१ लाख ६४ हजार छ सय ९७ रुपैयाँको कारोबार भएको छ । सिभिल बैंकको पनि चार करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंकको तीन करोड ६१ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिखर इन्स्योरेन्स र स्वाबलम्बन विकास बैंकको दुई करोड ८५ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ भने भिबोर सोसाईटी डेभलपमेन्ट बैंकको दुई करोड ६० लाख र कुमारी बैंकको दुई करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । एनएमबी बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सानिमा बैंकको क्रमशः एक करोड ९५ लाख, एक करोड ८२ लाख र एक करोड ७० लाख माथिको कारोबार भएको छ ।
निर्धन उत्थान बैंकका सेयरधनीले विहीबार सबैभन्दा धेरै ६.७५ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सृजना फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, समिट माइक्रोफाइनान्स, जलविद्युत् लगानी तथा विकास कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा आईएलएफसी माइक्रोफाइनान्स रहेको छ, जसका सेयरधनीले ७.७१ प्रतिशतका दरले गुमाएका छन् । स्वाबलम्बन विकास बैंक र मुक्तिनाथ विकास बैंकका सेयरधनीले क्रमशः ६.६१ र ५.०७ प्रतिशतका दरले गुमाएका छन् । डिप्रोस्क डेभलपमेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड १, अल्पाइन डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, नागबेली लघुवित्त, सिनर्जी फाइनान्स, युनियन फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



