अमेरिका विश्वकै शक्तिशाली राष्ट्र भएको र अमेरिकाको अर्थतन्त्रको गतिले विश्व अर्थतन्त्रको गति निर्धारण गर्ने भएकाले यहाँ हुने हरेक राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमा सबैको चासो रहन्छ । यस्तै चासो यहाँको राष्ट्रपति निर्वाचनप्रति सबैले राखेका थिए । बुधबार भएको निर्वाचनमा सबैको अनुमान विपरीत डोनाल्ड ट्रम्पले जीत हासिल गरे । यसप्रति सबैले आआफ्ना विचार राखे, कसैले समर्थनमा त कसैले असन्तुष्ट भावमा । यसै विषयमा बरिष्ठ अर्थविद डा. चन्द्रमणि अधिकारीसँग बैंकिङ खबर डट कमले कुरा गरेको छ । प्रस्तुत छ, डा. अधिकारीको भनाई जस्ताको तस्तै :
"डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रपति जितेसँगै केहि समय विश्व अर्थतन्त्रमा उथलपुथल आउन सक्छ । अमेरिकाको तत्कालिन राष्ट्रपति बाराक ओबामाको सरकारले गरेको प्रसान्त क्षेत्रीय व्यापार सम्झौतामा ट्रम्पको सहमति छैन । चीन, बेलायत र म्याक्सिकोसँग राम्रोे सम्बन्ध छैन वास्तवमा उनी त्यहांको अर्थनीतिसँग पनि सहमत देखिँदैनन् ।
हुन त अमेरिकामा राष्ट्रपति नै सर्वेसर्वा हुने होईन । त्यहाँ ट्रम्पको पनि विरोध पार्टी छ र सिनेट पनि छ । वास्तवमा उनीमा अलिकति अनिश्चितता भने पक्कै छ । वास्तवमा ट्रम्पलाई विश्वले नै चाहेका थिएनन् ।
अमेरिकामा ट्रम्प राष्ट्रपति हुँदा तत्काल नेपालको अर्थतन्त्रमा असर गर्दैन । व्यापारमा लगानी र अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायतामा कटौति हुन सक्ला । ट्रम्पले उत्पादनमा बृद्धि गर्ने र निजी क्षेत्रलाई अगाडी बढाउने नीतिलाई अघि सार्ने सम्भावना देखिन्छ । केहि समय भने अर्थतन्त्रमा अनिश्चितता बढाउन सक्छ । "


