
बैंकिङ खबर/ भारतमा एक महिनाको अवधिमा कुल ३६ खर्ब २० अर्ब रुपैयाँमध्ये दुई तिहाईभन्दा बढी अर्थात् २४ खर्ब १० अर्बभन्दा बढी नोट फिर्ता भएको छ। भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर शक्तिकान्त दासका अनुसार २००० रुपैयाँको नोट फिर्ता गर्नुले अर्थव्यवस्थामा कुनै प्रतिकुल प्रभाव परेका छैन ।
केन्द्रीय बैंकले १९ मे का दिन अचानक २००० रुपियाँको नोट फिर्ता लिने निर्णय गरेका थिए। मानिसहरुले ३० सेप्टेम्बरसम्ममा २००० रुपियाँको नोट बदल्न या जम्मा गर्न सक्नेछन्।
दासले आरबिआईको आफ्नो कार्यकक्षमा समाचार एजेन्सीहरुसँग कुराकानी गर्दै २००० का लगभग ८५ प्रतिशत नोट बैंकमा जम्मा भइसकेको बताएका छन्।
अर्थात मानिसहरु नोट परिवर्तन गर्नुको सट्टा बैंकमा जम्मा गरिरहेका छन्। यस अघि जून ८ मा भएको मौद्रिक नीति समीक्षापछि दासले १८ खर्ब रुपियाँ बराबरको २००० का नोट फिर्ता भइसकेको बताएका थिए। यो चलनमा रहेको २००० रुपियाँको कुल नोटको करिब ५० प्रतिशत थियो।



