Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शिव शिखर सहकारी प्रकरणः भारतबाट समातिए पूर्वअध्यक्ष केदारनाथ शर्मा

२०८० असार १२ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबीले जनाएको छ । उनीमाथि १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप छ ।

२०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि पूर्वअध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो । उनी नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान भइरहेको छ ।