
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन एवं परिमार्जन गरेको छ । एकीकृत निर्देशन अनुसार मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट ६ प्रकारका सुविधा पाउने भएका छन्। यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७९ पुसभित्र एकीकृत कारोबार गरेमा मात्र मर्जरको सुविधा दिने नीति ल्याएको थियो।
अहिले एकीकृत निर्देशन संशोधन गरेर राष्ट्र बैंकले २०८० असारभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरुले सुविधा पाउने घोषणा गरेको हो। ‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट तोकिएको सुविधा तथा छुट प्रदान गरिनेछ,’ निर्देशनमा भनिएको छ।


