Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ट्रेजरी बिलमार्फत् ५ अर्ब आन्तरिक ऋण उठाइँदै, करिब २६ अर्ब नवीकरण हुने

२०८० जेष्ठ २२ गते

बैंकिङ खबर/ सरकारले २२ जेठमा ट्रेजरी बिल मार्फत् ५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । सोमबार कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने छ । जसमध्ये ५ अर्बको नयाँ र २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२८ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब आन्तरिक ऋण परिचालन हुन लागेको हो । यस्तै २८ दिन अवधिकै ३ अर्बको ट्रेजरी बिल नवीकरणका लागि सोमबार बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै ९१ दिन अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल मार्फत् नवीकरण हुने राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

सोमबार नै १८२ दिन अवधिको १० अर्ब रुपैयाँ र २६४ दिन अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पनि नवीकरण्को लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि १४ जेठमा भएको कोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ७.५४५८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.१६९५ प्रतिशत कायम भएको थियो । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ९.१३९८ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ८.८०८६ प्रतिशत कायम भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।