Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले सरकारलाई दियो ६ अर्ब ऋण

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँ ऋण सरकारलाई दिएको छ । सरकारलाई आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले बिक्रीमा ल्याएको ट्रेजरी विल्समा बैंकहरुले ब्याजदर नघटाएपछि केन्द्रीय बैंक आफैले सरकारलाई ऋण दिएको हो।

सरकारले केन्द्रीय बैंकमार्फत आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल्स बिक्री गरी ऋण उठाउन लागेको थियो। कुल २९ अर्ब १३ करोडमध्ये ९१ दिन अवधिको ४ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल्स बिक्री गर्ने र बाँकी २५ अर्ब १३ करोड रुपैयाँ नवीकरण गर्न लागेको थियो।

नवीकरण गर्न लागेको विल्समध्ये २८ दिने ४ अर्बको, ९१ दिनेको १३ अर्ब १३ करोडको, १८२ दिने ६ अर्ब र ३६४ दिने १२ अर्ब रुपैयाँको थियो।
उक्त ट्रेजरी विल्समध्ये ९१ दिन अवधिको ३ अर्ब ११ करोड र १८२ दिन अवधिको ३ अर्ब १७ करोड रुपैयाँको ट्रेजरी विल्स बैंकहरुलाई नदिई केन्द्रीय बैंक आफैले खरिद गरेको छ। उक्त ट्रेजरी विल्समा बैंकहरुले ९.२७ प्रतिशतसम्म ब्याजदर तोकेर बोलकबोल पेश गरेका थिए।

केन्द्रीय बैंकको अनुसार आइतबार बिक्री गरेको ट्रेजरी विल्समा २८ दिन अवधिको विल्सको दर ७.५४ प्रतिशत कायम भएको छ भने ९१ दिन अवधिको ९.१६ प्रतिशत, १८२ दिन अवधिको ९.१३ प्रतिशत र ३६४ दिन अवधिको ८.८० प्रतिशत कायम भएको छ।

अहिले एक बैंकले अर्को बैंकबाट लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर पनि ७ प्रतिशतमा झरेको छ। बैंकहरुले एकअर्काबाट ७ प्रतिशत ब्याजदरमा सापटी लिइरहेका छन्। राष्ट्र बैंकबाट सापटी लिँदा साढे ७ प्रतिशत ब्याजदर तिर्नु पर्ने छ। तर सरकारले भने बजारबाट ऋण उठाउँदा ९ प्रतिशतभन्दा धेरै ब्याजदर तिर्नुपरेको अवस्था छ।