Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ट्रेजरी बिलमार्फत सवा ३४ अर्ब आन्तरिक ऋण उठाइँदै

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/सरकारले करिब सवा ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ उठाउन लागेको जनाएको हो । जसअनुसार ३२ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । यसअघि सरकारले पटक-पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत सवा ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ८.९८ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ९.८४ प्रतिशत र सबैभन्दा कम ७.७४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।