
बैंकिङ खबर/सम्पत्ति शुद्धिकरणको विषयमा नेपाल कुन अवस्थामा सूचीकृत हुन्छ भन्नेबारेमा मुल्याकंन हुँदै छ । एशिया प्यासिफिक ग्रुप(एपीजी)को टोली दुई पटक नेपाल आएर त्यसको मुल्याकंनसमेत गरिसकेको छ। यसको रिपोर्ट आगामी जुलाइमा सार्वजनिक हुने छ।
तर त्यसअघि विविधि विषयमा छलफल बाँकी छ। एसिया प्यासिफिक ग्रुप (एपिजी)को बैठकमा सहभागी हुन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी हुने भएका छन् । राष्ट्र बैंकका गभर्नर अधिकारी नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय समेत गरेको छ ।
अपराध र अवैध रुपमा आर्जित भएको सम्पत्तिबारे यसले मुल्याकंन गर्छ। त्यस्तो कार्यमा छुट दिएको वा खुल्ला गरिएको भए नेपाललाई सम्पत्ति शुद्धीकरणको मामिलामा कमजोर अवस्था देखाइदिने गर्छ। कानुनको सुधार तथा पालना भएर नभएको वा नेपाल कुन सूचकमा पर्छ भन्ने विषय भने रिपोर्ट आएपछि मात्र थाहा हुन्छ। उक्त रिपोर्टअनुसार नेपाल निगरानीमा पर्ने वा नपर्नेबारे जानकारी आउँछ। रिपोर्ट भने वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले सार्वजनिक गर्ने गर्छ।


