
बैंकिङ खबर/ राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र ०८५ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि पाँच वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।
ऋणपत्रका लागि मंगलबार (जेठ २ गते) दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । तालिका अनुसार बुधबार राष्ट्र बैंकले ऋणपत्र जारी गर्नेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको हो ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा मात्रै सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सोही अनुसार अहिले विभिन्न औजारमार्फत आन्तरिक ऋण उठाइरहेको छ ।



