२०८० बैशाख ५ गते

सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिऔँ : राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सबै कुरा बुझेरमात्रै बैंकिङ सेवा लिन सेवाग्राहीलाई सुझाव दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सेवाबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवामात्रै लिनुपर्छ’, सूचनामा भनिएको छ, ‘कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिई यस्ता सेवा लिनुहुँदैन।’

बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जाना, जरिवाना, कमिसन आदिका बारेमा सरल एवं स्पष्ट भाषामा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। ‘ग्राहकलाई सम्पूर्ण विषय सरल भाषामा बुझाएरमात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु बैंक तथा वित्तीय संस्थाको दायित्व हो’, सूचनामा उल्लेख छ।