Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लुम्बिनीको विदेशी मुद्रा राष्ट्र बैंकले सटही गर्ने

२०७९ चैत्र २३ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा सटही गर्ने भएको छ । लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैयाँ बराबरका विभिन्न ३९ देशका मुद्रा राष्ट्र बैंकले सटही नगर्दा यत्तिकै थन्किएको थियो । यी मुद्रामध्ये २० वटा देशको मुद्रा सटही हुने भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवासँग अपरिवर्त्य मुद्राको सटहीका लागि सम्झौता भएको छ । कोषका अनुसार लुम्बिनीको दानपेटिकाबाट संकलित मुद्रामध्ये सबैभन्दा धेरै म्यानमारका ‘क्याट’ रहेका छन् । त्यस्तै, ओमान, पेरु, इण्डोनेसिया, भियतनाम, भुटानका छन् । मङ्गोलिया, बङ्गलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान, मकाउ, इरान, मोरिसस, युगान्डा, इराक, माल्दिभ्स, चिली, स्वीडेन, रसिया, टर्की, ग्वाटेमाला, पोल्याण्ड, युक्रेन, ताइवान, जोर्डन, लेबनान, ब्राजिल, इजिप्ट, ब्रुनाई, सियरा लिओन, नोर्गिज क्रोनर लगायत देशका मुद्रा छन् ।

७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैयाँ बराबरको ११ करोड ८० लाख ७९ हजार २ सय ५० क्याट सटही हुन सकेको छैन । त्यस्तै ५ हजार ३ सय ३९ ओमन रियाल सटही हुन सकेको छैन । जसको मूल्य नेपाली रुपैयाँमा १७ लाख ७९ हजार ९ सय ६६ बराबर हुन आउँछ । ८ लाख ११ हजार ६८ नेपाली रुपैयाँ बराबरको २२ लाख ७७ हजार २ सय ३० श्रीलङ्कन रुपैयाँ पोको पारेर राखिएको छ । यी नोट २०७२ साल यताको भएको र यी राष्ट्रका मुद्रा अमेरिकी डलरसँग परिवर्त्य गर्दा १ करोड १७ लाखभन्दा धेरै नेपाली रुपैयाँ हुन आउँछ।

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले लुम्बिनीमा रहेका ती मुद्रा बैंकको एजेन्सी बैंक सिंगापुरको सिआईएमबीमा पठाई सटही गरिने बताए । प्रयोगविहिन हुने अवस्थामा पुगेका ती नोटको सटही गर्न कोषले नेपाल राष्ट्र बैंकसमक्ष पत्राचार गरेपछि राष्ट्र बैंकले एजेन्सी मार्फत २० वटा देशको नोट सटही गर्न सहमत भएको हो ।