
बैंकिङ खबर/ नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिट्यान्सले नै धानेको छ । आज विदेशीने युवाहरुको संख्या बढ्दो छ । देशमा व्याप्त वेरोजगारी लगायतका कारण युवाहरु विदेशीन बाध्य भएका छन् ।
सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएको छ तर वैदेशिक रोजगारीमा जानेको संख्या भने बढ्दो छ । गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् ।
फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७९५, साउदी अरेबियाका लागि ९ हजार ५०३, कुवेतका लागि २ हजार ४६२, दक्षिण कोरियाका लागि २ हजार २२७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको संख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार ५८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार सात सय १८ दक्ष, ५ हजार ४४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० जना उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यसरी वैदेशिक रोजगारीमा जानेको संख्या बढेपनि उल्लेख्य रुपमा रेमिट्यान्स भने बढेको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको छ । माघ एक महिनामा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । पुस महिनामा भने १ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । पुसको तुलनामा माघमा भने रेमिट्यान्स घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
के हो रेमिट्यान्स ?
कुनै एक स्थानबाट कुनै अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ पैसा पठाउने कार्यलाई रेमिट्यान्स विप्रेषण भन्ने बुझिन्छ । विशेष गरी रेमिट्यान्स वाह्य देशमा कार्यरत नागरिकहरुले कमाएर आफ्नो देशमा पठाइने पूँजी,नगद वा वित्त हो । विदेशमा रहेका कामदारले कमाएर आफ्नो परिवारलाई पठाउने रकम रेमिट्यान्स हो ।
त्यस्तै बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् एक स्थानबाट अर्को स्थानमा रकम ट्रान्सफर गरेर पठाउने कार्य रकमान्तर हो । यो स्वदेश (आन्तरिक) र विदेश (बाह्य) दुवै हुन सक्छ । यस्तो रकम औपचारिक माध्यम अर्थात् बैंक तथा वित्तीय संस्था मार्फत् पठाएमा त्यसलाई बैंक ट्रान्सफर भनिन्छ । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू मार्फत् स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ ।
रेमिट्यान्स पठाउँदा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैंक, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट रकमान्तर गर्ने तरिका नै सबैभन्दा बढी सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो।
अधिकांश विकासशोन्मुख मुलुकहरुको आम्दानीको प्रमुख स्रोत नै रेमिट्यान्स हो । हाम्रो नेपाली अर्थतन्त्र पनि रेमिट्यान्सले धान्दै आएको छ । पछिल्ला केही वर्षहरुमा रेमिट्यान्सको वृद्धि झिनो रुपमा मात्रै भएको छ भने वृद्धिदर क्रमशःघट्दै गइरहेको छ ।
औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुने फाइदाहरु :-
पैसाको कारोबार गर्दा जहिले पनि औपचारिक माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ । बैंक तथा वित्तीय संस्थाबाट एवं रेमिट्यान्सको कारोबार गर्ने राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थबाट मात्रै विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(१) औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ ।
(२) यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
(३) बैंक/वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(४) बैंक/वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
(५) रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।
(६) वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण कारोवार गरेको हुनुपर्छ ।
विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्नेकुराहरू
– विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।
-विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने ।
– विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।
– यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदा आम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने ।
विप्रेषणको उचित प्रयोग
विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन ।
विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ । विप्रेषणकै आम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ । बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ।
(क) शिक्षा
शिक्षाले सीप आर्जन गरी भविष्यमा थप आय सिर्जनामा मद्दत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानीको क्षेत्र हो ।
(ख) उत्पादनमूलक क्षेत्र
उत्पादनमा वृद्धि गराउने साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, वस्तुपालन, सीप आर्जन, बचत वा शेयर खरिद आदि ।
(ग) लगानी
जोखिम कम भएको क्षेत्रमा लगानी, साना व्यापार वा व्यवसाय, बैंङ्क वा वित्तीय संस्थामा बचत वा शेयर आदि ।
(घ) अनावश्यक खर्च
चुरोट, रक्सी, पानपराग, जुवा, तास आदि खेलेर गरेको खर्च ।
(ङ) अनुत्पादक खर्च
आवश्यकताभन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइल, रिचार्ज, देखावटी सामान आदिमा गरेको खर्च ।
(च) अनावश्यक विलासिताका वस्तु
नचाहिएको अवस्थामा मोटरसाइकल, टि.भि., फोन, ल्यापटप, आवश्यकभन्दा बढी विवाह, भोज, चाडवाड आदि ।




