
बैंकिङ खबर/स्वीजरल्याण्डको क्रेडिट स्वीस बैंक संकटग्रस्त बनेको छ । ‘टू बिग टू फेल’ को मान्यता बमोजिम उत्पन्न भएको वित्तीय समस्याका कारण अमेरिकी बैंकिङ क्षेत्र मात्रै नभई यूरोपेली बैंकिङ क्षेत्र समेत प्रभावित बनेको हो । स्वीजरल्यान्डको पाँचौ ठूलो बैंक–क्रेडिट स्वीसले फाइनान्सियल रिर्पोटिङमा गडबडी भएको सार्वजनिक गरेपछि बैंकको सेयरमूल्य गत पाँच दिनमा २५ प्रतिशतले घटेको छ ।
बैंक धरासायी हुने अवस्थामा पुगेपछि स्वीजरल्यान्डको केन्द्रीय बैंक–स्वीस नेशनल बैंकले क्रेडिट सुस्सेइलाई आपत्कालीन ५४ अर्ब डलर सहयोग गरेको थियो । तथापी केन्द्रीय बैंकको उक्त सहयोग पर्याप्त नभएपछि बैंकको सेयरमूल्यमा निरन्तर गिरावट आएको थियो भने यूरोपेली सेयरबजारमा ब्यापक सेल–अफको श्रृङ्खला चलेको थियो ।
स्वीरजरल्यान्डले ‘टू बिग टू फेल’ अन्तर्गत सूचीत गरेको बैंक धरासायी हुने अवस्थामा पुगेपछि स्वीस सरकारले शनिबार राति आपत्कालीन बैठक घोषणा गरेको थियो । केन्द्रीय बैंकले दिएको आपत्कालीन सहयोगले पनि क्रेडिट स्वीसका लगानीकर्तामा विश्वास दिलाउन नसकेपछि, क्रेडिट स्वीसलाई स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक युबीएसले सहयोग गर्ने भएको छ ।
कुनै समयमा क्रेडिट स्वीसकै प्रतिस्पर्धी रहेको युबीएस बैंक अहिले स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक रहेको छ भने क्रेडिट स्वीस पटक–पटक विवादमा आउँदा पतनको अवस्थामा पुगेको छ । क्रेडिट स्वीस जस्तो बैंक धरासायी अवस्थामा पुगेपछि विश्वभरको बैंकिङ क्षेत्र प्रभावित हुन पुगेको छ ।
युएसबी बैंकले क्रेडिट स्वीसको सेयर मात्रै खरिद गर्ने वा बैंक नै अधिग्रहण गर्ने भन्ने विषय युरोपमा चर्चाको विषय रहेको छ । क्रेडिट स्वीस अधिग्रहण गर्ने अवस्था सिर्जना भएमा स्वीस सरकारले ६ अर्ब डलर सहयोग गर्नुपर्ने युएसबीले जनाएको छ ।
सन् १८५६ मा स्थापना भएको क्रेडिट सुस्सेई बैंक मनी लाउन्डरिङको मुद्दामा मुछिँदै आएको छ । सन् २०२२ मा मात्रै बैंकले ७ अर्ब ३० करोड स्वीस फ्रान्क अर्थात् ७ अर्ब ९० करोड डलर गुमाएको छ । बैंकको यो घाटा सन् २००८ को आर्थिक मन्दी यताकै सबैभन्दा ठूलो क्षति रहेको छ ।क्रेडिट स्वीसले घाटा भोगिरहेको समयमा युएसबी बैंकले ७ अर्ब ६० करोड डलर बराबरको नाफा कमाएको छ ।



