Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक रनको त्रासदी : राष्ट्र बैंक भन्छ‘नेपालका बैंकहरु सुरक्षित छन्’

२०७९ फाल्गुन २९ गते

बैंकिङ खबर/ विश्वको शक्तिशाली देश अमेरिकाका बैंकहरु धमाधम बन्द हुन थालेपछि यतिबेला विश्वभरी तरंग उत्पन्न भएको छ । अमेरिकाका सिलिकन भ्याली बैंक‘बैंक रन’  र सिग्नेचर बैंक टाट पल्टेर बन्द भएका हुन् । खराब कर्जा बढेका र निक्षेपकर्ताले बैंकप्रति विश्वास गुमाएपछि एकैपटक ठूलो परिमाणमा निक्षेप निकाल्दा ती बैंकहरु टाट पल्टेका हुन्। यसरी अमेरिकाका बैंकहरु बन्द हुँदा नेपालमा पनि त्रास उत्पन्न भएको छ । यसबीचमा नेपाल राष्ट्र बैंकले भने नेपालका बैंकहरु सुरक्षित रहेको जनाएको छ ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले नेपालको बैंकिङ क्षेत्र अहिले कम्फर्टेबल जोनमै रहेको बताए । उनका अनुसार नेपालका बैंकिङ सूचकहरु सहज अवस्थामै छन् । बैंकहरुप्रति जनताको विश्वास गुम्दा र एकैपटक ठूलो परिणाममा निक्षेप निकाल्दा ‘बैंक रन’को अवस्था आउने उनको भनाइ छ । उनले थपे, ‘तर, नेपालका बैंकहरु अहिले सहज अवस्थामै छन । अहिले बैंकहरुको ध्यान निक्षेप तान्नेभन्दा कर्जा असुलीमा बढी फोकस छ।’

राष्ट्र बैंकले बेला–बेला विभिन्न वित्तीय उपकरण प्रयोग गरी तरलता सहज बनाइरहेको पोखरेलले बताए। ‘सीडी रेसियो मेन्टेन छ, अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतको हाराहारीमा मात्रै छ, बैंकहरुले एसएलएफ सुविधा पनि लिइरहेका छैनन् ।’

यसैबीच नेपाल राष्ट्र बैंकले आइतबार मात्रै ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको छ। यो विनियमावली राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ।

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम ऋणदाता सुविधा प्रदान गर्नका लागि उक्त विनियमावलीमार्फत विभिन्न व्यवस्था ल्याएको हो। बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा राष्ट्र बैंकले यो सुविधा प्रदान गर्नेछ।

यसैगरी बैंक तथा संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा पनि राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ।

ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई बैंक तथा संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा वा बैंक तथा संस्थाले प्रतिबद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थ व्यवस्थामा पर्ने भएमा पनि यो सुविधा राष्ट्र बैंकले प्रदान गर्नेछ।

राष्ट्र बैंकले कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा पनि यो सुविधा उपलब्ध गराउनेछ। बैंक तथा संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा र प्राकृतिक प्रकोपका कारण आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा पनि राष्ट्र बैंकले यो सुविधा प्रदान गर्नेछ।

केन्द्रीय बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट बैंक तथा संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा र आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा तथा त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सिर्जना हुन सक्ने भएमा यो सुविधा उपलब्ध गराउनेछ।

माथि उल्लेखित कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले अन्तिम ऋणदाता सुविधाका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्नेछ। त्यस्तो अनुरोध राष्ट्र बैंकलाई मनासिव लागेमा सञ्चालक समितिको निर्णयबमोजिम राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्न सक्नेछ।