
बैंकिङ खबर/हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि एकीकृत कारोबार शुरु हुँदैछ । प्राप्तिपछि हिमालयन बैंक लिमिटेड नामबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकको रुपमा एकिकृत कारोबार सुरु हुन लागेको हो । दुवै एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।
सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । दुवै बैंककोे पुस २८ गते सम्पन्न साधारण सभाले पनि हिमालयनले सिभिललाई प्राप्ति हुने प्रस्ताव पारित गरिसकेको छ । आजदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध छन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध छन् ।
सिभिल बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका छन्।यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बैंकबाट बाहिरिएको हुन् ।


