२०७९ माघ २५ गते

आर्थिक संकटमा टर्की : भूकम्पका कारण एक बिलियन डलर बराबरको क्षति

बैंकिङ खबर/ टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण आर्थिक संकट उत्पन्न भएकोा छ । भूकम्पकै कारण ट्रर्कीको मुद्रा लीरा निरन्तर कमजोर भइरहेको छ भने महंगी दर करिब ५७ प्रतिशत पुगेको छ । टर्कीमा यतिबेला मंहगी ह्वातै बढ्दा जिविका धान्न धौधौको अवस्था पुगेको छ । भूकम्पका कारण ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ ।

अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण संकलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पका ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिनुभएको छ । मान्छे खोज्ने कुकुर र विशेष उपकरणसहित पुगेका उनीहरुले उद्दारको काम गर्नेछन । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

युएस जियोलोजिकल सर्वेक्षणका अनुसार भुकम्पले टर्की र सिरियाका केहि क्षेत्रमा धेरै असर गर्दा एक बिलियन डलरको क्षति भएको छ । २०२० जनवरीमा यस क्षेत्रमा ६.७ म्याग्निच्युडको भुकम्प आउँदा ६०० मिलियन डलरको क्षति भएको थियो ।

यद्यपी टर्कीमा बीमा ब्रीजका माध्यमबाट नागरिकहरुलाई अनिवार्य बीमा गराइन्छ । २०२१ मा गरिएको बीमा नवीकरणका आधारमा टर्कीको करिब २.५ बिलियनको दावी भुक्तानीको क्षमता रहेको छ ।

यी राष्ट्रहरूमा भवन तथा अन्य संरचना भत्किँदा अत्याधिक क्षति भएको छ । यसैगरी, उद्योग तथा उत्पादनमा स्वतः घाटा हुँदा वस्तु निर्यात सुस्त भएको छ । विद्युत आपूर्ति अवरुद्ध हुँदा लाइफ लाइन सेवा सञ्चालन गर्न कठिनाई भइरहेको छ । यसैगरी, राजस्व घट्ने र सार्वजनिक क्षेत्रको खर्च बढ्ने अनुमान गरिएको छ । त्यस्तै, चोटपटक, मृत्यु वा बेरोजगारीका कारणले घरेलु आम्दानीमा असर पर्नेछ ।

टर्कीकी एक महिलाका अनुसार गत वर्ष ४ हजार ५०० लीरा भएको टर्कीको घरभाडा अहिले दोब्बरले बढेको छ । टर्कीका नागरिकले घरभाडा दुई गुणा बढेको बीबीसीसँग बताएका छन् । अहिले टर्कीमा एक घर भाडामा लिँदा करिब ३० हजार लीरा पर्ने गर्दछ ।

टर्किकै अर्का एक नागरिकले आफूहरु अचानक गरिब भएको महसुस गरेको बताएका छन् । उनले भनेका छन्, ‘सडकमा महंगी ६०० प्रतिशतले बढेको महसुस भइरहेको छ तर पेन्सन केवल ३० प्रतिशतले बढेको छ ।’

२०२२ अक्टोबरमा टर्किको खुद्रा महंगी दर ८५.५ प्रतिशतसम्म पुगेको थियो । यो २४ वर्षयताकै उच्च मुद्रास्फिती दर थियो । यद्यपी जनवरीमा कम भएर महंगी ५७.७ प्रतिशतमा झरेको थियो । त्योभन्दा एक महिनाअघि डिसेम्बरमा महंगी दर ६४.३ प्रतिशत थियो ।

यस्तै, डलरको तुलनामा टर्कीको मुद्रा लीरा १८.८३ मा पुगेको थियो । एक वर्ष अघि अर्थात् २०२२को फेबुअरी ६ मा लीरा १३.५६ थियो । अर्थात् एक वर्षमा टर्कीको करेन्सी करिब ३८ प्रतिशतले कमजोर भएको छ । यसैगरी, टर्कीका राष्ट्रपति एर्दोगानले देशका दक्षिणी भागका १० शहरहरूलाई प्रकोप क्षेत्र भएको र ती क्षेत्रमा तीन महिनाको आपतकालिन अवस्था घोषणा गरेका छन् ।

एजेन्सी