
बैंकिङ खबर/ बैंक वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । चालु आर्थिक वर्षको नौ महिनामा ८ वटा बैंकहरु एकापसमा गाभिएका छन् । एक वर्षअघिसम्म २७ वटा रहेका वाणिज्य बैंक रहेकोमा हाल आएर २२ वटामा सिमित भएको छ । विगतमा मुलुकमा ३ सय ३ वटासम्म बैंक तथा वित्तीय संस्था थिए ।
थपिने क्रम बढ्दै जाँदा वित्तीय स्थायित्व कायम हुन सकेन । यस्तो क्रमलाई रोक्न नेपाल राष्ट्र बैंकले गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गर्यो । पछिल्लो १८ वर्षको अवधिमा धेरै बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जुटे। यसले बैंकको वित्तीय स्थायित्व सुदृढीकरण गर्ने नेपाल राष्ट्र बैंकको उद्देश्य केही हदसम्म सफल भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो करिब १८ वर्षको अवधिमा १ सय ८३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा जुटेर इजाजत खारेज भएर घटेका छन् । उक्त संख्यामा घट्दा २०७९ पुस २७ गतेसम्म कुल १ सय २० वटा सञ्चालनमा छन्। २०७० सालसम्ममा वाणिज्य बैंक मात्रै ३२ वटासम्म थिए । हालसम्ममा १० वटा घटेर २२ मा सीमित छन् । चालू आर्थिक वर्षको पुसमा मात्रै ८ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्ति गरेर ४ वटा भएका छन् ।
मर्जर तथा प्राप्तिमा सहभागी नै नभएर आफै बिजनेश ग्रोथ गर्ने अडान लिएका आधा दर्जन वाणिज्य बैंकहरुलाई अहिले मर्जरको प्रेसर छ । जसमा माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक र एनएमबी बैंक रहेका छन् ।
माछापुच्छ्रे बैंक
ठूला भनिएका वाणिज्य बैंकहरुले धमाधम मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिरहँदा वा केही वाणिज्य बैंकले मर्जर सम्झौता गरी प्रक्रियामा जाँदा माछापुच्छ्रेलाई समेत दबाव पर्न गएको छ ।
बैंकहरुमा बिग मर्जर चलिरहेको बेला उपयुक्त बैंकसँग छलफल गरेर मर्जरमा जाने बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले बताउनुभएको छ । बैंकको २४औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष महतोले यस्तो बताएका हुन् । यता राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासदेखिनै माछापुच्छ्रे बैंकलाई मर्जरको लागि पार्टनर खोज्न अनौपचारीक रुपमा दबाव दिँदै आएको हो । त्यसको एकमात्रै कारण, गत आवमा माछापुच्छ्रे बैंकले तोकिएको पुँजी कोष अनुपात कायम गर्न नसक्नु हो ।
केन्द्रीय बैंकद्वारा जारी पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्छ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भनिन्छ ।
बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
बैंकले पुस मसान्त अवधीसम्ममा १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप उठाएर एक खर्ब २८ अर्ब कर्जा लगानी गर्दा २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
१० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९९ रुपैयाँ रहेको छ । आधार ब्याजदर ११.२३ प्रतिशत रहँदा स्प्रेड दर ४.२५ छ । बैंकको सीडी रेसियो ८५.१८ रहेको छ ।
एनआइसी एशिया बैंक
एनआइसी र बैंक अफ एशिया आपसमा गाभिएर एनआइसी एशिया बैंक बनेपछि आक्रमक बजार विस्तामा होमिएको एनआइसी एसिया बैंकले पछिल्ला वर्षमा चमत्कारिक प्रगति गरेर देखाएको छ ।
बैंकको आ.व. २०७९/८० को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ ।
बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ ।
स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
एनआईसी एशिया बैंकले मर्जरमा जानको लागि २०७६ मै आफ्नो प्रतिबद्धता राष्ट्र बैंकलाई बुझाइ सकेको छ। तर अहिले धमाधर्म बैंकहरु बिग मर्जरमा गइरहँदा एनआइसी एसिया बैंकले भने मर्जको कुनै संकेत देखाएको छैन् ।
सिद्धार्थ बैंक
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरका लागि दबाब दिइरहेको बेला सिद्धार्थ बैंकले भने खासै मर्जरमा चासो देखाएको छैन । राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जर सम्झौता गरिसक्न निर्देशन दिएकोले पनि सिद्धार्थ बैंक भने मर्जरमा गएको छैन ।
यता बैंकको चालु आर्थिक वर्षको ६ महिनामा नाफा २६.३८ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेका यस बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा १ अर्ब १६ करोड ११ लाख ९९ हजार मात्र नाफा आर्जन गरेको हो ।
यो अवधिमा बैंकको नाफा घटेसंगै सञ्चालन मुनाफा पनि घटेको छ भने खुद ब्याज आम्दानी भने बढेको छ ।
गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकामा चालु आर्थिक बर्ष सोही अवधिमा आइपुग्दा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको छ ।
यस्तै, बैंकको सञ्चालन मुनाफा भने २ अर्ब २८ करोड ८ लाख ५१ हजार रुपैयाँबाट घटेर १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा गत आवको तुलनामा २७ प्रतिशत घटेको हो ।
दोस्रो त्रैमाससम्म बैंकको बैंकको खराब कर्जा ०.३७ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ । हाल चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ भएको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको छ । २ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा प्रतिशेयर आम्दानी २२.३३ रुपैयाँ रहेको कम्पनीको चालू आवमा १६.५३ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १८.६० गुणा, तरलता अनुपात २५.४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १६३.२९ रुपैयाँ रहेको छ ।
सिटिजन बैंक
विगतमा सहयोगी विकास बैंकसँग मर्जर भएर बनेको सिटिजन बैंक मर्जरमा गएको छैन । बैंकले राष्ट्र बैंक समक्ष मर्जरको प्रतिबद्धता जनाए पनि हालसम्म मर्जरमा गएको छैन ।
यता बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा ३२.११ प्रतिशतले घटेको छ । गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ कमाएको बैंकले नाफा यस वर्ष भने ३२.११ प्रतिशतले घटेर ८४ करोड १३ लाख ३३ हजार रुपैयाँ सिमित भएको अवस्था छ । बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ५७ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २९.७१ प्रतिशतले घटेर १ अर्ब १९ करोड १९ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
एनएमबी बैंक
विगतमा ओम विकास बैंकलाई गाभेर बनेको एनएमबी बैंक हाल मर्जरमा गएको छैन । यस बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ९२ अर्ब ६३ करोड ८० लाख एक हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ८३ अर्ब ४३ करोड दुई लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार अर्ब २६ करोड ९२ लाख ८८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ६३ करोड ९७ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव १९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ८४ अर्ब ८१ करोड ७१ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७४ अर्ब ९४ करोड ८३ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ६४ प्रतिशत रहेको थियो ।
मर्जर के हो ?
दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । मर्जर प्रक्रियामा गाभ्ने र गाभिने संस्था संलग्न हुन्छन् । गाभिने संस्थाको सम्पत्ति, दायित्व वा व्यवसायलाई आफूले स्वीकार गरी लिन मन्जुर गरेको इजाजतपत्रप्राप्त संस्था गाभ्ने संस्था हो भने आफ्नो सम्पत्ति, दायित्व वा व्यवसायलाई गाभ्ने संस्थामा हस्तान्तरण गर्ने तथा गाभ्ने कार्य समाप्त भएपछि कानूनी अस्तित्व समाप्त हुने इजाजतपत्रप्राप्त संस्था गाभिने संस्था हो ।
प्राप्ति (एक्विजिशन) भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य बुझिन्छ । लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्य नै प्राप्ति हो ।
दुई वित्तीय संस्था मर्जरपछि नयाँ वित्तीय संस्था बन्छ, जसमा दुवै संस्थाको व्यवस्थापनको प्रतिनिधित्व हुने गरी नयाँ व्यवस्थापन बनाइन्छ । मर्जरपछि बन्ने नयाँ संस्थामा सीईओ को रहने, केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा छलफल गरी निर्णय गरिन्छ । बैंकको नाम पनि परिवर्तन हुने अथवा दुबै बैंकको प्रतिनिधित्व हुने गरी नाम राख्ने भन्ने विषयमा दुवै पक्षको छलफल हुन्छ । प्राप्ति गर्दा सीईओ वा केन्द्रीय कार्यालय परिवर्तन गरिँदैन । बैंकको नाम परिवर्तन हुँदैन । प्राप्ति भएको बैंक प्राप्ति गर्ने बैंकमा विलय भएपछि उसको अस्तित्व रहँदैन । मर्जर वा एक्विजिसन गर्दा बैंकहरुले अपनाउनुपर्ने प्रक्रिया भने समान रहेको छ ।
बैंकिङ प्रणालीको संवद्र्धन गर्न एवम् पुँजीगत आधार बलियो बनाउन बैंकहरुबीचमा मर्जर वा एक्विजिसन गराइन्छ । यसबाट बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवम् अन्य क्षमता अभिवृद्धि हुन्छ । कुनै पनि वित्तीय संस्थाले गाभ्ने गाभिने अर्थात मर्जर र प्राप्ति अर्थात एक्विजिसन प्रक्रिया एकैसाथ अगाडी बढाउन नपाउने राष्ट्र बैंकको प्रावधान रहेको छ ।




