
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय कारोबारले सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आयोजना गरेको साउथ एसियाज् पाथ टू रिसाइलेन्ट ग्रोथ विषयक उच्चस्तरीय सम्मेलनमा सहभागी हुँदै उहाँले कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभयो । उहाँले यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा समेत विशेष टेवा पुगेको बताउनुभयो ।
साथै, उहाँले पछिल्लो समय विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरको रुपमा लिएर आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिई विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर रहेको नेपाली अर्थतन्त्रको संरचनात्मक सुधारमार्पmत मुलुकलाई दिगो आर्थिक वृद्धिको बाटोतर्पm लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सोही कार्यक्रममा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले विशेष वक्ताका रुपमा सम्बोधन गर्दै सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राख्नुभयो । मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वयलगायतका विषय सार्क क्षेत्रको नीतिगत प्राथमिकतामा पर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता रहेको थियो ।


