
बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर १९ प्रतिशत तोक्न माग गरेको छ । महासंघले सहकारी विभागलाई अहिले सहकारीको भन्दा वाणिज्य बैंकको ब्याजदर बढी भएको भन्दै सन्दर्भ ब्याजदर १९ प्रतिशत तोक्न माग गरेको हो ।
सन्दर्भ ब्याजदर बढाउन भन्दै महासंघले विभागमा सुझाव पेस गरिसकेको छ ।
महासंघले सन्दर्भ ब्याजदरका कारण संस्थाहरुले स्वचालिन रुपमा ब्याजदर परिवर्तन गर्न नपाउँदा यस क्षेत्रको पुँजी अस्वभाविक रुपमा पलायन हुँदै गएको जनाएको छ । अहिले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १६ प्रतिशत रहेको छ । यस्तै महासंघले विभागमा सम्पति रोक्का, कालोसूचीमा समावेश लगायतका व्यवस्था मार्फत सहकारी संस्थाहरुको खराब ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने माग सहितको सुझाव दिएको छ ।
सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउन सिफारिश गरी तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने, ऐनमा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुुनुपर्ने, सहकारी क्षेत्रको बिषयमा सकरात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने माग राखेको छ ।


