Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सम्पत्ति शुद्धीकरणविरुद्ध राष्ट्र बैंक थप कठोरः जोखिम प्रतिवेदन पेश गर्न निर्देशन

२०७९ मंसिर १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण (एएमएल/सीएफ्टी) सम्बन्धी संस्थागत जोखिमको पहिचान तथा मूल्यांकन गरी त्यसको जोखिम प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धमा थप कडाइको नीति लिंदै राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले हालै जारी गरेको बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकिकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो प्रतिवेदन हरेक आर्थिक वर्ष सकिएको पहिलो त्रैमासभित्र सम्बन्धित सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी इकाइमा पेश गर्न निर्देशन दिएको हो ।

यसरी जोखिम मूल्यांकन गर्दा बैंक तथा वित्तीय संस्थाले ग्राहक, सेवा, भौगोलिक क्षेत्र तथा सेवा प्रवाह गर्ने माध्यम लगायत एएमएल÷सीएफटी सम्बन्धी जोखिम को पहिचान एवम् विश्लेषण गरी त्यसको मूल्यांकन गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का/फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिनु केन्द्रीय बैंकले निर्देशन दिएको छ ।