
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको मर्जर नीतिपछि पछिल्लो समय नामि ठूला बैंकहरु नै विलय हुने अवस्थामा आइपुगेका छन् । उसो त बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चासो र चर्चाको विषय बनेको छ ।
वास्तवमा शाखा सञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामथ्र्यका दुई वित्तीय संस्थाबीचको एकीकरण नै ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भइकन पनि सामथ्र्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिन्छ ।
यी दुई प्रक्रियाका कारण नेपालमा वित्तीय संस्थाको संख्या घट्ने प्रक्रिया जारी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले कमजोर तथा साना बैंकहरूलाई मर्जर वा एक्विजिसनमा पठाएर बैंकको हालको संख्यालाई करिब आधामा झार्ने नीति अख्तियार गरेको छ ।
२०६१ साउनमा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सको एकीकृत कारोबारसँगै शुरु भएको नेपाली बैंक तथा वित्तीय संस्थाहरूको मर्जलाई सहजीकरण गर्न मर्जर विनियमावली, २०६८ ल्याइयो ।
त्यसपछि आएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने (मर्जर) तथा प्राप्ति ९एक्विजिसन० सम्बन्धी विनियमावली, २०७३ ९चौथो संशोधन २०७५० ले यसलाई व्यवस्थित गरेको पाइन्छ । सैद्धान्तिक रूपमा मर्ज वा एक्विजिसनको मूल उद्देश्य फरक–फरक भूगोलमा रहेका संस्था एकआपसमा जोडिएर पुँजीगत रूपमा सबल बन्दै व्यावसायिक रूपमा फैलिएर मुनाफा वृद्धि गर्नु हो ।
विनियमावलीले पनि मर्ज वा एक्विजिसनबाट मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन गरी बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने मूल उद्देश्य राखेको छ ।
हाल राष्ट्र बैंकले चाहेअनुसार नै बैंक तथा वित्तीय संस्थाको संख्या ह्वात्तै घटाएको छ । हाल १२६ वटा बैंक तथा वित्तीय संस्था मात्रै सञ्चालनमा छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यो संख्या अझै घट्ने देखिन्छ ।
कुनै समयमा ३२ वटा वाणिज्य बैंक पुगेपनि हाल २६ वटामा सीमित छन् । केही बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेकाले यो संख्या अझै घट्ने निश्चित छ । हालसम्म २० वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सहभागी भएका छन् । यी बैंकहरुले विभिन्न ६७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी विलय हुँदैछ ठूला बैंक
हाल बैंक अफ काठमाण्डूसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो ।
यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । ग्लोबल बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो ।
हालै ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूबीच एकापसमा गाभ्न तथा गाभिनका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर समेत गरिसकेको छ । समझदारीपत्रअनुसार ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरिसक्नुभएको छ ।
मर्जरपश्चात् बैंकको कूल पूँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५ अर्ब ७७ करोड कूल निक्षेप रु चार सय अर्ब, कूल कर्जा रु तीन सय ७९ अर्बभन्दा बढी पुग्नेछ ।
मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ । सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच र बैंक अफ काठमाण्डूका तर्फबाट दुईजना रहनेछन् ।
त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । कूल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेको हुनेछ ।
साथै, दुवै बैंकले असोज मसान्तसम्म रु एक अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरुको मर्जरपश्चात् कूल तीन सय ८५ शाखा कार्यालय, तीन ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने दाबी गरिएको छ ।
यस्तै सेञ्चुरी बैंकले हालसम्म आइपुग्दा विभिन्न पाँच वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि।स। २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि।स २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा दुइटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो ।
हाल आएर प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरमा जाने सम्झौता भइ सकेको छ । यी दुवै बैंकले २०७९ साउन १५ गते मर्जरको लागि सम्झौता गरेका थिए । मर्जरको लागि दुवै बैंकबीच एक बराबर एकको अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुनसक्ने बताइएको छ । मर्जरपश्चात् बन्ने बैंकको नाम पनि प्रभु बैंक नै रहने विषयमा दुवै बैंकका सञ्चालकहरुबीच सहमति पनि भएको छ ।
सम्झौतामा प्रभु बैंकले सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुवै पद पाउने विषयमा पनि सहमति भएको छ । सो अनुसार मर्जरपछि बन्ने प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृतमा भने हालका सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने कायम रहने सहमति भएको छ ।
यस्तै सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २०७५ बैशाख १९ गतेका दिन एनआइडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । यसअघि यस बैंकलाई पनि मर्जर गराएर अन्य बैंकमा गाभ्नु पर्ने आवाज उठेपनि पछिल्लो समय भने वाणिज्य बैंकहरुमा नाफा आर्जन गर्नेमा अग्र स्थानमा छ । बैंक अहिले निजी क्षेत्रका वाणिज्य बैंकसँग प्रतिस्पर्धाको दौरानमा छ ।
यस्तै हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभ्ने÷गाभिने तथा प्राप्तिका लागि सम्झौता गरेको मेगा बैंकले पनि विभिन्न तीन वटा विकास बैंकलाई प्राप्ति गरिसकेको छ । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, बैंकले २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंक र २०७७ असार २१ गते गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले सम्पत्ति दायित्व मूल्यांकन ९डीडीए० रिपोर्ट तयार गरिसकेको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको बैंक सञ्चालकले बताएका छन् । यी दुई बैंकले जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए ।
दुबै बैंकको डीडीए रिपोट तयार भएकोले अन्य आन्तरिक प्रक्रिया मिलाएर ढिलोमा पुससम्म एकीकृत कारोबार गरिसक्ने गरी दुबै बैंकले प्रक्रिया अघि बढाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते ९बुधबार० मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।
सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंकको स्वाप रेसिया १००ः ९० गर्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब ५० करोड ८४ लाख हुन आउँछ ।
सो स्वाप रेसियो अनुसार कायम भएको पुँजीलाई मिलान गर्दा मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी करिब ३२ अर्ब ८१ करोड ५९ लाख पुग्ने देखिएको छ । अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो बजारमा सेयर मूल्य २६५ रुपैयाँ रहेको छ ।
कुमारी बैंकले पनि विभिन्न ५ वटा विकास बैंक र वित्त कम्पनीलाई प्राप्ति गरिसकेको छ । बैंकले काँक्रेविहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काष्ठमान्डप डेभलपमेन्ट बैंकलाई २०७४ असार १२ गते र देव विकास बैंकलाई २०७७ असार २८ गतेका दिन प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । हालै कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।
दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो ।
डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको हो । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।
एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्राइम कमर्सियल बैंकले हालसम्म विभिन्न ४ वटा बैंकलाई प्राप्ति गरिसकेको छ । जसमध्ये कन्ट्री देव र विराटलक्ष्मी विकास बैंकलाई २०७४ बैशाख १७ गते, कंकाई विकास बैंकलाई २०७६ भदौ २९ गते र कैलाश विकास बैंकलाई २०७६ चैत ७ गते प्राप्ति गरेको थियो ।
एनएमबि बैंकले विभिन्न ६ वटा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । जसमध्ये बैंकले पाथिभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक र पु्रडेन्सियल फाइनान्ससँग २०७२ साल कात्तिक १ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरी २०७६ असोज ११ गते र कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७७ भदौ ७ गते एकीकृत कारोबार गरेको थियो ।
सिटिजन्स बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरि सकेको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो ।
हाल यस बैंकलाई मर्जरमा जानका लागि राष्ट्र बैंकले दबाब दिँदै आएको छ । सानिमा बैंकले बागमति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ पौष १९ गतेका दिन एकीकृत कारोबार गरेको गरेको थियो ।
हाल मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले विभिन्न कालखण्डमा ३ वटा संस्थालाई प्राप्ति गरेको छ ।
बैंकले एस डेभलपमेन्ट बैंकलाई २०७४ असार २९ गते, जेबिल्स फाइनान्सलाई २०७६ असार ३० गते र सिटी एक्सप्रेस फाइनान्सलाई २०७७ माघ १२ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । हालै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भइसकेको छ ।
इन्भेष्टमेन्ट बैंकको एक सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर ९१ बराबर ०।९ प्रतिशत स्वाप रेसियो० हुने गरी मर्जर गरिने प्रारम्भिक सहमति भएको हो । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ छ । त्यसपछि बन्ने बैंक चुक्ता पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो हुनेछ ।
मर्जरपश्चात् बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको जनाइएको छ । मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा पृथ्बीबहादुुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाँडे रहने सहमति भएको छ । सञ्चालक समितिमा भने दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व हुने जनाइएको छ ।
यी दुई बैंकको एक बराबर ०.९ प्रतिशत स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । बैंकले स्वापका कारण उब्रिने रकम ९प्रिमियम०पछि बोनस सेयर दिँदा चुक्ता पुँजी ३४ अर्ब पुग्नेछ । यद्यपि, स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदनले गर्नेछ ।
मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन तीन खर्ब २७ अर्ब र कर्जा लगानी तीन खर्ब १२ अर्ब रुपैयाँ पुग्नेछ । एनआईसी एशिया बैंकले बैंक अफ एशिया नेपाललाई प्राप्ति गरी २०७० असार ६ गतेका दिन एकीकृत कारोबार गरेको थियो ।
सिद्धार्थ बैंकले विजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ असार ७ गते एकीकृत कारोबार गरेको थियो ।
ग्लोबल आइएमई बैंकसँग मर्जर सम्झौता गरेको बैंक अफ काठमाण्डू बैंकले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो ।
सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई २०७३ असार ३० गते र एनआईडीसी क्यापिटल मार्केटलाई २०७३ माघ २८ गते एकीकृत कारोबार गरेको थियो । प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो ।
यस्तै प्रभु बैंकले हाल सेन्चुरी बैंकसँग एक आपसमा गाभ्ने गाभिने सम्झौता गरिसकेको छ । दुवै बैंकले आइतबार १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन्। सम्झौतामा प्रभु बैंकको अध्यक्ष लिला प्रसाद सिटौला र सेन्चुरी बैंकका राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ । अहिले प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ । १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
माछापुच्छ्रे बैंकले स्ट्याण्र्डड फाइनान्ससँग मर्जर गरेर २०६९ असार २५ गते एकीकृत कारोबार गरेको थियो । एनसीसी बैंकले इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर गरेर २०७३ पुष १७ गते एकीकृत कारोबार गरेको थियो । हाल यसले कुमारी बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ ।
सिभिल बैंकले सिभिलम मर्चेन्ट वित्तीय संस्था र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग २०७३ कात्र्तिक १ गते, हामा मर्चेन्ट एण्ड फाइनान्स र यूनिक फाइनान्ससँग २०७४ असार १८ गते एकीकृत कारोबार गरेको थियो । हाल यस बैंकले हिमालयन बैंक लिमिटेडसँग मर्जरका लागि सम्झौता गरेको छ ।
सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा सिभिल बैंकलाई प्र्राप्ति गर्न लागेको हो । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ ।
सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको जनाएको छ । हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँ छ भने सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ रहेको छ ।
२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारणसभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।
लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरी २०७३ माघ २ गते एकीकृत कारोबार गरेको थियो । हाल लक्ष्मीको कुमारीसँग मर्जरका विषयमा छलफल भइरहेको बुझिएको छ ।
आफूलाई नम्बर एक दाबी गर्ने नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । यस बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको हो ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई ’एक्विजिसन’ गरेपछि एकीकृत कारोबार सुरु गरेको छ । एक्विजिसनपछि ’नबिल बैंक’को नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरु भएको हो । नेपाल बंगलादेश बैंक विलय भएको छ ।
के भन्छ अध्ययनले ?
विगतमा नेपाल राष्ट्र बैंकले एक अध्ययन गरेको थियो । अध्ययनमा समेटिएका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु सहितको अन्तरक्रियाको क्रममा मर्जर पश्चात योग्य संचालकको छनौट गरी संस्था सञ्चालन गर्नुपर्नेमा मर्ज भएका प्रत्येक संस्थालाई समेटने गरी संचालक छनौट गर्दा एकातर्फ संचालक समितिको आकार ठूलो हुने र अर्कोतर्फ कुशल संचालक छनौटको उद्देश्य पूरा हुन नसकी संचालन कार्यकुशलतामा समेत समस्या आउने गरेको पाइएको थियो ।
त्यस्तै, मर्जरले कर्मचारीको उत्प्रेरणामा पनि प्रभाव पार्ने गर्दछ । राष्ट्र बैंकको अध्ययनले १७।१ प्रतिशत कर्मचारीको उत्प्रेरणाको अवस्था विग्रिएको, ४१।२ प्रतिशतको राम्रो भएको र ४१।८ प्रतिशत कर्मचारीहरुको मर्जरपश्चात कर्मचारी उत्प्रेरणा यथावत रहेको पाइएको थियो ।
तलव सुविधा वृद्धि र कर्मचारीलाई दिइएको जिम्मेवारी प्रति सन्तुष्टिका आधारमा कर्मचारीहरुको उत्प्रेरणा सन्तोषजनक रहेता पनि मर्जरपश्चात कर्मचारीको पद मिलान, फरक कार्यशैली, सानो संस्थाका कर्मचारीमा लघुताभाष र वोनसमा कमी जस्ता विषयमा चिन्ता व्यक्त गरेको पाइएको थियो ।
मर्जरमा जाने संस्थाहरुको कारोबारका साथै सम्पत्ति एवम् दायित्वको अवस्था देखाउने डीडीए प्रतिवेदनलाई आधार बनाई शेयर आदान प्रदान अनुपातको निर्धारण गर्नुपर्नेमा आफूअनुकुल हुने गरी उक्त प्रतिवेदन तयार हुने अभ्यासका कारण लगानीकर्ताले सम्पत्तिको वास्तविक मूल्य प्राप्त गर्न नसकेको राय पनि अन्तरक्रियाका क्रममा उठेको थियो । मर्जरपश्चात शेयर कारोबार फुकुवामा ढिलाई हुने तथा मर्जर भएर हट्ने संचालक सदस्यहरुले आफ्नो शेयर विक्री गरी संस्थाबाट हट्न चाहेमा तत्कालै हट्न सक्ने अवस्था नरहेको राष्ट्र बैंकको अध्ययनले देखाएको थियो ।
ग्राहक सेवाको गुणस्तरमा भएको परिवर्तनका सम्बन्धमा सर्वेक्षणको नतिजाले ५४ प्रतशित सेवाग्राहीहरुले सेवाको गुणस्तरमा सुधार आएको अनुभव गरेको पाइएको थियो । सेवाग्राहीमध्ये ४२।३ प्रतिशतले सेवा प्राप्त गर्ने समय यथावत रहेको र ३८ प्रतिशतले सो समय घटेको अनुभव गरेको पाइएको थियो । त्यस्तै कर्जा लिएका अधिकांश ९८७ प्रतिशत० सेवाग्राहीले मर्जरपश्चात भविष्यमा कारोवारका लागि संस्था परिवर्तन गर्न नचाहेको पाइएको थियो ।
सर्वेक्षणः नेपालमा ११ देखि १५ वटा मात्रै वाणिज्य बैंक उपयुक्त
हालै नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका क्रममा नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको छ । उक्त सर्भेले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो ।
राष्ट्र बैंकले अध्ययनको सर्भेको लागि कुल २३० जना छनौट गरेको थियो । जसमा १४० जना बैंक तथा वित्तीय संस्थामा आवद्ध थिए भने ९० जना विज्ञहरु थिए । राष्ट्र बैंकका अनुसार १४० जनामा बैंक तथा वित्तीय संस्थाका सीइओ, डेपुटी सीइओ, कार्यबाहक सीइओ, संचालक, र अन्य उच्च ब्यबस्थापक रहेका थिए ।
सर्भेमा सहभागी भएका अधिकांशले नेपालमा हाल रहेको वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् । बैंक तथा वित्तीय संस्थाको तर्फबाट सर्भेमा सहभागी भएका १४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या आवश्यकता भन्दा बढी रहेको उल्लेख गरेका छन् ।
सर्भेमा सहभागी भएका मध्ये आधाले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् । सर्भेमा सहभागी भएका ५ मध्ये १ जनाले बैंकको संख्या ५ देखि १० वटा हुनु पर्ने उल्लेख गरेका छन् । त्यस्तै १५ प्रतिशतले १६ देखि २० वटा बैंक उपयुक्त हुने उल्लेख गरेका छन् । बाँकि भने २० देखि २५ बैंक हुनु पर्छ भन्नेमा छन् ।
त्यस्तै बैंक वित्तीय संस्थाबाट सहभागी मध्ये ६१।४ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै १८।६ प्रतिशतले स्वेछिक मर्जर हुनु पर्ने र १२।१ प्रतिशतले फोर्स मर्जर गर्नु पर्ने उल्लेख गरेका छन् । त्यस्तै सर्भेमा सहभागी मध्ये ६१ प्रतिशतले कमजोर बैंक र बलियो बैंकबीच मर्जर हुनु पर्ने उल्लेख गरेका छन् ।




