
काठमाडौं । नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरी यतिबेला चुनावी मैदानमा हुनुहुन्छ । मंसिर ४ गते हुने आम निर्वाचन नजिकिएसँगै सुनसरी क्षेत्र नं.३ मा चुनावी सरगर्मी ह्वातै बढेको छ । यस क्षेत्रमा प्रभावशाली नेतृ चौधरी र कांग्रेसका नेता विजयकुमार गच्छदारबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । लामो समय एकै व्यक्तिले चुनाव जितेको त्यस क्षेत्रका जनताहरु यसपटक भने नयाँ अनुहारको खोजीमा देखिन्छन् ।
पाँचपटक उपप्रधानमन्त्रीसहित १२ पटक मन्त्री बनेका गच्छदार भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । ललिता निवासको जग्गा प्रकरणमा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो । चार दशक नेपाली राजनीतिमा शक्तिशाली पदमा रहँदा गच्छदारले आफ्नो गाउँका जनताको जीवनस्तर उकास्न केहि पनि गर्न नसकेको मतदाताहरु बताउँछन् ।
हरेक कार्यमा विजय अधोगतितिर लागेका र जनता परिवर्तनको पक्षमा भएकाले यसपटक जसरी पनि भगवतीको विजय हुने निवर्तमान प्रदेश सांसद समेत रहेका क्षेत्र नं. ३ का स्थानीय बताउँछन् । अर्कातिर लामो समयदेखि पार्टीभित्र एउटै व्यक्ति सात पटकसम्म चुनावमा प्रतिस्पर्धा गर्दा यस क्षेत्रका नेता–कार्यकर्ता असन्तुष्ट छन् ।
त्यसकारण पनि यस पटक भगवतीप्रति आम नागरिकको विश्वास बढ्दै गएको देखिन्छ । ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) सुनसरीकी अध्यक्ष समेत रहेकी चौधरीले सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका तीन लाख बढी महिलाको अनुहारमा उज्यालो ल्याएकी छन् । सुनसरीको दुहवीमा रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवन स्तर उकास्न तल्लिन छ । आर्थिक अधिकारबाट वञ्चितिकरणमा परेका विपन्न सुमदायका महिलाको अनुहारमा खुसी ल्याउन आर्थिक सशक्तिकरणकी अभियन्ता चौधरी हर बखत कोसिस गरिरहेकी छन् । उनले धेरै युवा, महिलाहरुलाई रोजगारका साथै स्वरोजगार बनाइसक्नु भएको छ । पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफुले १० वर्ष अगाडी देखि उठाउँदै आएको चौधरी बताउँछिन् ।
चौधरी सामाजिक क्षेत्रमा उदाएकी महिला हुन् । वर्गीय, क्षेत्रीय र लैंगिक आन्दोलनमा अग्रमोर्चामा उनी छन् । यस क्षेत्रका नागरिकले उनलाई महिला आन्दोलनको अगुवा र महिलालाई आत्मनिर्भर बनाउने नेताको रुपमा चिन्ने गर्दछन् ।
उनको नेतृत्वमा तीनलाख बढी महिला आत्मनिर्भर बनेका छन् । चौधरीले सुनसरीमा मात्र नभइ देशका ४० जिल्लाका तीनलाख बढि महिला आत्मनिर्भर बनाउने काममा भुमिका खेल्नुभएको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्नलाई उद्यमी बनाउन प्रशिक्षण दिएर त्यसका आधारमा बिउपुँजी उपलब्ध गराउने गरिएको चौधरी बताउँछिन् ।
कुनै बेला एक सय नहुनेहरु अहिले फरवार्डसँग जोडिएर करोडपति भएका छन् । उद्यमी मात्र बनेका छैनन् समूदायलाई सचेत बनाउने अभियानमा समेत लागेका छन् । स्थानीय चन्द्र प्रकाश भन्छन्, ‘सामाजिक योगदान गर्नुभएकी चौधरी दिर्घकालिन योजना दिनसक्ने भिजन भएको नेता हो । जनप्रतिनिध नहुँदै चौधरीको योगदान देखिन्छ भने भोली निर्वाचित भएर गएपछि उहाँले समाज र राज्यको लागि धेरै काम गर्न सक्नुहुनेछ ।’
आर्थिक समृद्धि, युवा स्वरोजगार र व्यवसायिक कृषि योजना र स्थानीय विकासका आधारलाई आफ्नो चुनाबी नारा लिएर चौधरी चुनावी मैदानमा छन् ।सुनसरी क्षेत्र नं ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडी परेको क्षेत्रका रुपमा लिने गरिन्छ । उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफु राजनीतिमा होमिएको चौधरी बताउँछिन् । उनी भन्छिन्, ‘राजनीतिमा लागेर मैले कुनै व्यक्तिगत लाभ लिनु छैन, मेरो एकमात्र उद्देश्य भनेको त्यहाँका जनताको जीवनस्तर उकास्नु हो ।’ आधुनिक कृषि प्रणाली अवलम्बन गर्दै चक्लावन्दी गरी नगदेबाली लगाए उक्त क्षेत्रका जनताको जीवनस्तर सुधार गर्न सकिन्छ । सुनसरी क्षेत्र नं ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको उनको भनाइ छ । सुनसरी ३ मा विकासको मुल फुटाउन र त्यहाँका जनताको जीवनस्तर उकास्नकै लागि आफूले राजनीति गरेको चौधरी बताउँछिन् ।
विकास र आर्थिक दृष्टिकोणले यस क्षेत्र सबैभन्दा पछाडी परेको छ । ‘सुनसरी ३ मा विकास हुनुपर्छ, सुशासन हुनुपर्छ, स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटनका क्षेत्रमा विकासको मुल फुट्नुपर्छ भन्ने माग दशकौं देखिको हो’ चौधरी भन्छिन्, ‘मंसिर ४ गतेपछि त्यो पुरा गर्ने अवसर प्राप्त हुन्छ ।’ शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकास, स्तरोन्नती गर्ने, गाउँमै उद्योगहरु सञ्चालन गर्ने चौधरीको आफ्नो एजेण्डा रहेकाले पनि यस यस क्षेत्रका मतदाहरु चौधरीको पक्षमा देखिन्छन् ।




