बैंकिङ खबर/ मंसिर ४ गते हुने आम निर्वाचनमा नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । यसरी चुनावी मैदानमा उत्रिनेमा अर्थविद्, अर्थमन्त्री तथा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा पूर्वउपाध्यक्ष र उद्योगी व्यवसायी रहेका छन् । केही अर्थशास्त्री र उद्योगी व्यवसायी भने राजनीतिक दलहरूको समानुपातिक सूचीमा परेका छन् ।
यस्ता छन् अर्थतन्त्र बुझेका सवल उम्मेदवार
अर्थमन्त्री जनार्दन शर्मा
अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि रुकुम पश्चिममा उम्मेदवार बन्नुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिम पुगेर शर्माले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँग नेकपा एमालेका नन्दराम देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ ।
विवादित रूपमा करका दरहरू हेरफेर गरेको आरोपमा लागेपछि उहाँ पहिलो कार्यकालबाट बाहिरिनुभएको थियो । संसदीय छानबिन समितिले शर्मालाई उक्त आरोपबाट सफाइ दिएपछि उहाँ पुनः अर्थमन्त्रीमा पुनर्बहाली हुनुभयो ।
वर्षमान पुन
पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ। पुनले आइतबार वारेसनामामार्फत रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँका तर्फबाट माओवादीका रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले लिबाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभयो । पुनले अर्थमन्त्रीको आफ्नो कार्यकाल सफल रूपमै पूरा गर्नुभएको थियो ।
विष्णु पौडेल
पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सुरेन्द्र पाण्डे
पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिनुभएको छ । पाण्डेले आइतबार वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउनुभयो । ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा यहीबाट विजयी भएपछि पाण्डे अर्थमन्त्री हुनुभएको थियो ।
ज्ञानेन्द्रबहादुर कार्की
पूर्वअर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर गठबन्धनमा कांग्रेसका तर्फबाट आइतबार मनोनयन दर्ता गराउनुभयो ।
विश्व पौडेल
अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेल प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिने हुनुभएको छ । पौडेलले गठबन्धनअन्तर्गत कांग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराउनुभयो । निर्वाचनमा प्रतिस्पर्धा गर्नकै लागि पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिइसक्नुभएको छ ।
विनोद चौधरी
आगामी निर्वाचनमा उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँलाई गठबन्धनमा कांग्रेसले उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । चौधरीले उक्त निर्वाचन क्षेत्रमा गएर आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ ।
भगवती चौधरी
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभातर्फ भगवती चौधरीले उम्मेदवारी दिनुभएको छ ।
उहाँले आइतबार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको हो । मनोनयनपत्र दर्ता गर्दै उहाँले सुनसरीमा ३० वर्षमा नभएको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ यो निर्वाचनमा सुनसरी ३ का जनताले ऐतिहासिक निर्णय गर्नेछन् । परिवर्तनको पक्षमा मतदान गर्नेछन् ।’
उमेश श्रेष्ठ
सरकारका राज्यमन्त्री एवं व्यवसायी उमेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री हुनुहुन्छ । श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनअन्तर्गत कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको छ।
विक्रम पाण्डे
निर्माण व्यवसायी विक्रम पाण्डे यस पटक पनि प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ता गर्नुभएको छ।
राजेन्द्र बजगाईं
पर्यटन व्यवसायी राजेन्द्र बजगाईं यस पटक पनि प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिने हुनुभएको छ । यसका लागि बजगाईंले गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता सक्नुभएको छ ।
मोहन आचार्य
निर्माण व्यवसायी कांग्रेसका पूर्वसांसद मोहन आचार्यले पुनः प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसका लागि उनले आइतबार रसुवाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवसायी दीपक खड्काले प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभाबाट मनोनयन दर्ता गराउनुभएको छ ।
भट्टचन, श्रेष्ठ र रुंगटा समानुपातिकमा
नेकपा (एमाले) को समानुपातिक उम्मेदवार सूचीमा व्यवसायी देवीप्रकाश भट्टचन पर्नुभएको छ । प्रभु समूहका अध्यक्ष भट्टचन एमालेको आदिवासी जनजाति क्लस्टरबाट उक्त सूचीमा पर्नुभएको हो । माओवादी केन्द्रको समानुपातिक सूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ पनि समेटिनुभएको छ । वीरगन्जका व्यवसायी अनिल रुंगटा कांग्रेसका तर्फबाट समानुपातिक सूचीमा पर्नुभएको छ ।




