Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पैसाको आडमा महासेठका श्रीमान् श्रीमती पार्टी उम्मेद्वार

२०७९ आश्विन २६ गते


काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कतिपय नेताका परिवारका सदस्यहरू नै चुनावी मैदानमा उत्रिएका छन् । कतिपयका श्रीमान्–श्रीमती नै उम्मेदवार छन् भने कतिपयका बाबुछोरी र दाजुबहिनी उम्मेदवार बनेका छन् । यसरी उम्मेद्वार बन्नेमध्ये एक हुन् रघुवीर महासेठदम्पती ।  एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्यूरो सदस्य जुली महतो एमालेबाट प्रत्यक्षमा उम्मेवार बनेका छन् । रघुवीर धनुषा–४ र जुली धनुषा– ३ बाट निर्वाचन लड्दैछन् ।

रघुवीर सत्ता गठबन्धनमा कांग्रेसका तर्फबाट महेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धा गर्नेछन् भने जुलीले लोसपाका अनिलकुमार झासँग चुनावी प्रतिस्पर्धा गर्नेछन् । जुली एनआरएनको संस्थापक अध्यक्ष उपेन्द्र यादवकी बहिनी हुन् । २०७४ सालको निर्वाचनमा पनि जुली र रघुवीर श्रीमान्, श्रीमती नै सांसद बनेका थिए ।
रघुविर संविधानसभाको उपनिर्वाचन २०६५ मा धनुषा– ५ बाट निर्वाचित भएका थिए । २०७४ मा पुनः प्रतिनिसभामा धनुषा– ४ बाटै निर्वाचित भएका थिए । त्यही क्षेत्रबाट उनले फेरि उम्मेदवारी दिएका छन् ।

जुली पहिलोपटक २०६४ मा समानुपातिक सांसद बनेकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचन २०७० मा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँग धनुषा–३ मा हार ब्यहोरिन्। त्यसपछि पुनः २०७४ मा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भइन् । यो उनको चौंथो पटकको उम्मेदवारी हो ।
एकै दम्पत्तीले पटक–पटक चुनावमा टिकट पाउँदा आलोचना समेत हुन थालेको छ । पैसाको आडमा चुनावी मैदानमा उत्रिएको पनि उनीहरुमाथि आरोप लाग्ने गरेको छ ।

पटक–पटक सत्तामा रहँदा महासेठ दम्पत्तीले आफ्नो गाउँठाउँको लागि भन्दा पनि परिवारको लागि सत्ताको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ । महासेठ दम्पत्तीले मुलुकको विकासमा के योगदान दिए ? लोकतान्त्रिक आन्दोलनमा के गरे ? आफ्नै क्षेत्र र गाउँको आर्थिक, सामाजिक विकासमा कस्तो भूमिका खेले । यो कुरा बुझ्न टाढा जानै पर्दैन । उनकै गृह जिल्ला धनुषामा गए पुग्छ जहाँ वर्षौंदेखि गरिबी, अशिक्षा र अन्धविस्वासको भुमरीमा जीवनयापन गर्ने जनताको झुपडी छ ।

सत्तामा रहँदा महासेठ दम्पत्तीले आफ्नो गाउँका जनताको जीवनस्तर उकास्न केहि पनि गर्न नसकेको गुनासोहरु पनि आउने गरेका छन् । उनीहरु मधेशमा चुनाव जितेर काठमाडौंमा बस्दै आएका छन् ।  विगतमा पनि महासेठ दम्पत्ती चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा नफर्किने परिपाटी रहेको उक्त स्थानका मतदाताहरु बताउँछन् ।  एउटै व्यक्ति र दम्पत्तीनै राजनीतिमा पटक–पटक आउँदा अहिले धनुषाका मतादातामा नैरेश्यता छाएको छ । मतदाताहरु नयाँ अनुहार, नयाँ भिजनको खोजीमा छन् ।