Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए ‘भद्र अवज्ञा’ गर्ने तयारी

२०७९ आश्विन ५ गते


बैंकिङ खबर/ सहकारी संघ/संस्थाका व्यवस्थापन प्रमुखहरुले समयमा नै सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन नभए भद्र अवज्ञा गर्न बाध्य हुने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको सहकारीको समसामयिक विषयमा व्यवस्थापन प्रमुखहरुको भर्चुअल अन्तक्रिया कार्यक्रममा सहभागी व्यवस्थापकहरुले सो कुरा बताएका हुन् । तरलता अभाव बढ्दो देखिएसँगै बैंकहरुले व्याज बढाएपछि सहकारीबाट निक्षेप बैंकमा जाने भन्दै व्यवस्थापकहरुले सन्दर्भ व्याजदर पुनरावलोकनका लागि केन्द्रीय संघहरु र विभागमा दबाब बढाउँदै आएका छन् ।

महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका सहकारी संघरसंस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । सहकारीको वर्तमान अवस्थाको विषयमा व्यवस्थापकहरुसँग छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको र यसलाई निरन्तरता दिने महासंघका महाप्रबन्धक सुब्बाले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सिइओ सिए बद्री गुरागाईले वर्तमान वित्तीय अवस्था, सहकारी तथा बैंकले खेलेको भूमिकाको विषयमा प्रस्तुती गर्नुभएको थियो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनले पछिल्लो समयमा गरेका क्रियाकलापहरु, सन्दर्भ व्याजदर पुनरावलोकन सम्बन्धी छलफल तथा पैरवी, शीघ्र जोखिम सुपरिवेक्षण कार्यदल गठन तथा स्थलगत अनुगमन सुरु गरिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुले सुझाव सहित धारणा राखेको र त्यसलाई प्रतिवेदनको रुपमा तयार गर्न महासंघका नायव महाप्रबन्धक बाबुल खनालको संयोजकत्वमा तीन सदस्यीय टिम तयार गरेको महाप्रबन्धक सुब्बाले बताउनुभयो । सो टिममा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका प्रतिनिधि रहनुहुनेछ ।