
बैंकिङ खबर/ पछिल्लो समय सहकारीहरु धमाधम मर्जरमा जान थालेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरू स्वस्फूर्त एकीकरणमा जान थालेका हुन् ।
यसैबीच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् ।
काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने पनि सहमति भएको छ ।
एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरिवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीन वटै सहकारीले साधारण सभा छिट्टै सक्ने र त्यसपछि एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रुप दिने सहमति जुटाएका छन् । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), जिल्ला सहकारी संघ लगायतका प्रतिनिधिहरु, तीन वटै सहकारी संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुको उपस्थितमा आज बिहान एकीकरण सम्झौता भएको हो ।
एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने सेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी आज आयोजित कार्यक्रममा गराइएको थियो ।
त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । ठुला सहकारीहरु बीचको एकीकरणले राम्रो सन्देश प्रवाह हुने बताउँदै अध्यक्ष राईले एकीकरणले छिट्टै अन्तिम रुपमा प्राप्त गर्ने बताउनुभयो ।
गत हप्ता मात्र आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण सम्झौता भएको थियो भने शनिबार काठमाडौंका ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् ।
एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
तारकेश्वरको योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीको उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तिसारको माउण्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरको सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडको हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था प्रस्ताव गरिएको छ । संस्थाको मुख्य कार्यालय न्युरोडमा रहने भएको छ । नरेन्द्र विष्ट अध्यक्ष रहेन संस्थाको प्रमुख कार्यकारी अधिकृतमा इन्द्रप्रसाद गेलाल रहने प्रारम्भिक सहमती समेत भएको छ । संस्थामा ११ जनाको सञ्चालक समिति, ३ जनाको लेखा सुपरिवेक्षण समिति रहने छ ।
एकीकरणपछि संस्थाको सदस्य संख्या ४१ हजार हुनेछन् भने कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५ करोड ५ लाख, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१ करोड ५ लाख र कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए ।
सहकारी संस्थालाई दीगो र सक्षम संस्था बनाउने उद्देश्य सहित एकीकरण सम्झौता गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । बिष्ट हालको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् ।
एकीकरणमा जाने सहकारीहरुले एक महिना भित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा सम्पन्न गर्ने समेत सम्झौता भएको छ । अघिल्लो शुक्रबारमात्रै ९ वटा सहकारी संस्थाले एकीकरण सम्झौता गरेका थिए ।
‘समस्या लुकाउने नियतले मर्जररएक्विजिसन नगर्नु’
सहकारी विभागले सहकारी ऐन र नियमावलीले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र आपसमा एकीकरण (मर्जर तथा एक्विजिसन) गर्न सहकारी संघसंस्थालाई निर्देशन दिएको छ ।
सहकारी संघसंस्थाहरूको एकीकरण सम्बन्धमा आफ्नो ध्यानाकर्षण जारी गर्दै विभागले उक्त निर्देशन दिएको हो । पछिल्ला दिनमा समस्यामा रहेका सहकारी संस्थाबीच एकीकरण प्रक्रिया बढ्न थालेपछि विभागले यस्तो निर्देशन जारी गरेको हो । निर्देशनमा पछिल्लो समय सहकारी संघसंस्थाको एकीकरण कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
निर्देशनमा विभागले एकीकरणका लागि सहकारी संघसंस्थाको योग्यता पनि तोकिदिएको छ, जसअनुसार एकै प्रकृतिका वा विषयका संस्था हुनुपर्ने, फरक प्रकृतिका भए तापनि एकै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र जोडिएको हुनुपर्ने, संयुक्त बैठकबाट एकीकरणसम्बन्धी निर्णय भएको हुनुपर्नेलगायत मापदण्ड निर्देशनमा उल्लेख छ ।
एकीकरणपूर्व दुई वा बढी संघसंस्थाले सबै संस्थाका सदस्यको संयुक्त बैठक बसेर एकीकरण विषयमा छलफल भई सहमति भएको माइन्युट गर्नुपर्ने निर्देशन पनि विभागको छ । ‘संयुक्त बैठकले एकीकरणका लागि सर्त तथा कार्यविधि तयार पार्न बढीमा ५ सदस्यीय संयुक्त कार्यदल निर्माण गरेको हुनुपर्ने,’ निर्देशनमा उल्लेख छ, ‘यसरी गठित कार्यदलाई एकीकरण हुने प्रत्येक संस्थाको सञ्चालक समिति बैठकबाट अनुमोदन गराएको हुनुपर्नेछ ।’
संयुक्त कार्यदलले तयार पारेको एकीकृत सर्त तथा कार्यविधिलाई सबै संस्थाको साधारणसभाबाट अनुमोदन गराएको हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ । एकीकृत कार्यको समयसीमा खुलाई प्रस्तावित कार्य योजनासहित सबै संस्थाको सञ्चालक समितिको निर्णयबाट प्रस्ताव पारित गरी एकीकरणको पूर्वस्वीकृतिका लागि विभागमा पेस गर्न पनि विभागले भनेको छ ।
विभागबाट पूर्वस्वीकृति पाएपछि एकीकरणसम्बन्धी गुनासो उजुरी माग गरी १५ दिने सूचना प्रकाशन गर्नुपर्ने, एक जिल्लाभन्दा बढीमा कार्यक्षेत्र भए राष्ट्रिय वा स्थानीयस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने, विभाग, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघ र संस्थाको सूचना पार्टीमा सूचना टाँस्नुपर्ने निर्देशन पनि विभागको छ ।




