Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ब्याजसहित सबैको बचत फिर्ता गर्छौं : देउराली सहकारी

२०७९ भाद्र ७ गते

बैंकिङ खबर/ देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले बचतकर्ताको सबै बचत फिर्ता गर्ने बताउनुभएको छ । एक विज्ञप्ति जारी गर्दै चौलागाईंले सबै बचत फिर्ता गर्ने बताउनुभएको छ। ललितपुरमा आयोजित संस्थाका सदस्यहरुको भेलामा अध्यक्ष चौलागाईंले कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप ब्याजसहित फिर्ता हुने बताउनुभयो। त्यसका लागि सबैलाई धैर्य हुन उहाँले आग्रह गर्नुभयो ।

निक्षेप फिर्ता लिन चाहनेहरुका लागि दुई चरणमा दुई विकल्प दिएर ब्याजसहित साँवा फिर्ता गर्ने पनि उहाँले बताउनुभयो । ५ लाख रुपैयाँसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाखभन्दा माथिका लागि ठूलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष चौलागाईंले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नम्बर ६ मेघौलीमा रहेको ५७ विघा जग्गालाई १२६७ प्लटमा प्लटिङ गर्नुभएको छ ।

मेघौली लगायत अरु विभिन्न ठाउँमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने संस्थाले जनाएको छ ।

त्यसैगरी संस्थाले दुई महिनायता तरलता समस्याका कारण टोकन सिस्टममा चलाइएका सबै काउन्टर सामान्य रुपमा खोल्ने भएको छ । ५ लाखसम्म बचत रहेका साना बचतकर्ताको रकम अविलम्ब फिर्ता गर्दै जाने बताएको छ ।

करिब २० हजार सदस्यहरु रहेको देउराली बहुउद्देश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ ।

संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत आर्थिक मन्दीका कारण समस्या आएको अध्यक्ष चौलागाईंले बताउनुभयो ।। ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरी ३ वटा काउन्टर छन् ।