
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले साउनमा कुल ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) उठाएका छन्।
मौद्रिक नीतिअघि उनीहरुले ७ प्रतिशत ब्याजमा सापटी लिएका थिए। मौद्रिक नीति जारी भएलगत्तै ब्याज साढे ८ प्रतिशत पुगेको थियो।
बैंक तथा वित्तीय संस्थाले साउनको अन्तिम दिन अर्थात मंगलबार २७ अर्ब २८ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्। साउन महिनामा बैंक तथा वित्तीय संस्थाले कुल २६ दिन स्थायी तरलता सुविधा प्रयोग गरेका छन्।
यसमध्ये सबैभन्दा कम एकै दिन १३ अर्ब ६० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् भने बढिमा ६१ अर्ब ७४ करोड रुपैयाँ लिएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।




