
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा हटाएको छ । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिअनुसार एकिकृत निर्देशतमार्फत सुविधा हटाएको हो ।
राष्ट्रबैंकले २०७८ असार मसान्तभित्र पुनर्संरचना र पुनर्तालिकीकरण गर्न असमर्थ कोभिड १९बाट अति प्रभावित पर्यटन क्षेत्रको बुझाउनुपर्ने ब्याजको ५ प्रतिशत रकम २०७८ पुस मसान्तभित्र गर्न सकिने व्यवस्था रहेको छ ।
नयाँ मौद्रिक नीतिले कर्जा पुनर्संरचनाको व्यवस्था हटाइदिएको छ । यसबाट पर्यटनसँगै चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रका ऋणीले सुविधा पाउनेछैनन् ।
त्यस्तै कोभिड १९ बाट प्रभावित विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीहरुलाई प्रदान गरिने कर्जा पनि हटाएको छ । कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रहरुमध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाइ सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था रहेको थियो । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो। नयाँ मौद्रिक नीतिले उक्त व्यवस्था हटाएको छ ।



