
बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र(एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ ।
शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौंको एक होटलमा सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो । बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गर्न स्वीकृत प्रदान गरेको छ । सिभिल बैंकले पनि बिहीबार नै सञ्चालक समिति बैंठक बोलाएको छ ।
संयुक्त कारोबार हिमालयन बैंकको नामबाट गर्ने र हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैंकको बोर्ड बैठकले स्वीकृत गरेको हो । हिमालयन बैंकमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैंकमा सेयरधनीको मर्जरपछि ८१ कित्ता सेयर हुने अनौपचारीक सहमति भएपनि एमओयूमाको ड्राफ्टमा भने उक्त कुरा समावेश नभएको जनाइएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा आउने सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा मर्जर गर्न लागेको रेसियो १० प्रतिशत भन्दा तलमाथि भएमा डीडीए रिर्पोटअनुसार हुनपर्ने व्यवस्था गरेको छ ।
हिमालयन बैंक सञ्चाल समितिको बैठकले १००ः८१ प्रतिशत स्वाप रेसियो हुने सहमति गर्दा डीडीएमा १० प्रतिशत भन्दा बढीले तलमाथि भएमा के गर्ने प्रश्न केही सञ्चालकले उठाएका थिए । तर, बैंकका अध्यक्ष सहितका मर्जर समितिमा रहेका सदस्यले त्यसमा मिलाउने भनेपछि एमओयूका लागि स्वीकृत प्रदान गरेको जनाइएको छ ।




