
बैंकिङ खबर/ साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. आज स्थापनाको २१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले साना किसान, महिला, दलित, निम्न आय वर्ग तथा उद्यमीहरुलाई लक्षित गरी कर्जा सेवाहरु उपलव्ध गराउँदै आएको छ ।
संस्थाका प्रमुख कायकारी अधिकृत (सिईओ) डा. शिवराम प्रसाद कोइराला आजसम्म आइपुग्दा संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘असहाय, निमुखा, र वहिष्करणमा परेका दुर्गम ग्रामीण क्षेत्रका बासिन्दाले बैंक-वित्तीय संस्थामा वित्तीय पहुँच पाउन कठिन हुने यथार्थलाई मनन् गरी यस वित्तीय संस्थाले स्थापना कालदेखि नै अनुरण कार्यक्रम गर्दै आएको छ ।’
यस्तै अबका दिनमा वित्तीय पहुँचबाट टाढा रहेका नागरिकको घरदैलोमा चाँडै वित्तीय पहुँच पु¥याउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । समृद्ध नेपालको आधार, साना किसानको हँसिलो मुहार भएकाले आजको विपन्न साना किसानहरु भोलि सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपालको आधार, साना किसानको हँसिहलो मुहार’ को अभियानलाई सार्थक बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । केहि विकट क्षेत्रहरुमा अझैपनि वित्तीय पहुँच पुग्न नसेको भन्दै उहाँले आगामी दिनमा चाँडै सबै नागरिकको वित्तीय पहुँच पुर्याउने उहाँको प्रतिवद्धता छ ।
ग्रामीण विपन्न नागरिकको आर्थिक विकासमा केन्द्रित
गाउँ–गाउँमा साना किसान सहकारीहरुको स्थापना भयो भने वित्तीय छाता संस्थाको रूपमा वि.सं. २०५८ मा साना किसान विकास वित्तीय संस्था लिमिटेड स्थापना गरियो । त्यसै गरी सहकारी सञ्जालको रूपमा वि.सं. २०६३ मा नेपाल कृषि सहकारी केन्द्रीय संघ (साना किसानहरुद्वारा प्रवर्धित) को स्थापना भयो । साना किसानहरुलाई मूल्य शृङ्खलामा आवद्ध गर्न कृषि औद्योगीकरणमा लैजाने क्रम समेत शुरु भइसकेको छ ।
तत्कालिन कम्पनी ऐन अन्तर्गत वि.सं. २०५८ साल असार २२ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा “साना किसान विकास बैंक” ले दर्ता नामाकरण पाएको हो ।
विकास बैंकको रूपमा स्थापित यस संस्थाको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लागू भएपछि नाम परिवर्तन भई “साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.” भएको छ ।
यसले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त संस्थाका रूपमा स्वीकृति प्राप्त गरी लघुवित्त क्षेत्रमा एक प्रमुख थोककर्जा प्रदायक संस्थाका रूपमा कारोबार गर्दै आएको छ ।
लघुवित्तका प्रचलित अभ्यासहरू भन्दा फरक ढङ्गले स्थानीय तहमा सवल, सक्षम, स्वायत्त र दिगो संस्थाहरूको निर्माणबाट मात्र गरिबी न्यनूीकरणको गतिलाई तीव्रता प्रदान गर्न सकिन्छ भन्ने यो वित्तीय संस्थाको मान्यता रहेको छ । वित्तीय संस्थाले ग्रामीण विपन्न तथा साना किसानहरूको आर्थिक र सामाजिक विकासका लागि उनीहरूकै स्थानीय सक्षम संस्थाहरूमार्फत लघुवित्त तथा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।




