
बैंकिङ खबर/ सहकारीको रकम ठगी गरेको अभियोग लागेका सिन्धुपाल्चोकका एक नेता जेल चलान भएका छन् । नेकपा एमाले सिन्धुपाल्चोकका नेता टंक गजुरेल एक करोड ३६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा जेल चलान भएका हुन् । उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले तोकेको ८० लाख रुपैयाँ धरौटी तोकेको थियो ।
गजुरेलले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ७ इचोकमा रहेको नवजीवन साना किसान कृषि सहकारीको रकम नक्कली ऋणी खडा गरि ठगी गरेको पाइएको थियो ।
सहकारीका अध्यक्ष गजुरेलको नेतृत्वमा सहकारीको एक करोड ३६ लाख भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको जिल्ला सरकारी वकिलको कार्यालय सिन्धुपाल्चोकले ठहर गरेको छ । उनीसहित सहकारीका प्रबन्ध निर्देशक शर्मिला भट्टराईलाई पनि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । उनी भने फरार रहेकी छिन् ।
जेठ २४ मा जिल्ला अदालत सिन्धुपाल्चोकमा दायर भएको अभियोगपत्रका अनुसार उनीसहित शर्मिला भट्टराई विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ (घ), (च) र (छ) बमोजिम कसुर गरेको पुष्टि भएको छ । उक्त ऐन अनुसार गजुरेललाई चार वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले गजुरेल र भट्टराईको सम्पत्ति रोक्का गर्न समेत माग गरेको छ ।



