
बैंकिङ खबर/ राष्ट्र बैंकका दुई सञ्चालकको कार्यकाल सकिएको छ । डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल शनिबारबाट सकिएको हो । २०७४ वैशाख ३ गते उहाँहरुलाई प्रचण्ड क्याबिनेटले राष्ट्र बैंकको सञ्चालक समितिमा सिफारिस गरेको थियो ।
यी दुई सञ्चालकको कार्यकाल सकिएसँगै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न कोरम नपुग्ने भएको छ । गत साता सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
यसैगरी अर्का सञ्चालक डा. सुबोधकुमार कर्णले नबिल र नेपाल बंगलादेश बैंक मर्जका लागि ३० हजार डलर घुस मागेको आरोप लागेपछि उहाँलाई गभर्नर महाप्रसाद अधिकारीले नै बैठकमा बोलाउन छाड्नुभएको थियो । अब सञ्चालक समितिमा कायममुकाय गभर्नर डा.निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र र अर्थसचिव मधुकुमार मरासिनी मात्रै रहनुहुनेछ ।
राष्ट्र बैंक ऐन २०५८ को दफा २८र५० मा बैठक अध्यक्षता र कम्तीमा ३ जना सञ्चालकको उपस्थिति समितिको बैठकको गणपूरक संख्या पुगेको मानिने उल्लेख गरिएको छ ।
बैठकमा उपस्थित हुनुपर्ने, सञ्चालकमध्ये पनि सरकारले नियुक्ति गरेका आर्थिक, मौद्रिक, बैकिंङ, वित्तीय, तथा वाणिज्य,कानुनको क्षेत्रका ३ मध्ये १ सञ्चालकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था उक्त दफामा उल्लेख छ ।
सरकारले नियुक्ति दिएका ३ सञ्चालक नै नभएपछि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक प्रभावित हुने देखिएको छ । जसले गर्दा राष्ट्र बैंकले तयारी गर्ने महत्वपूर्ण निर्णयसँगसँगै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रभावित हुने भएको छ । बैंकले गर्ने तेस्रो क्वाटरको समीक्षामा लिने मौद्रिक नीतिका विषयमा सञ्चालक समितिको बहुमत सदस्यले पारित गर्नुपर्ने हुन्छ ।




