
बैंकिङ खबर/ मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याउनुभयो ।
देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपालमै सम्भावनाहरु खोज्नुपर्ने बताउनुभयो ।
सहकारीलाई देशको संविधानले तीनखम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमायुवाहरु लाग्न पनि उहाँले आग्रह गर्नुभयो । सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानीगर्न नडराउन आह्वान गर्नुभयो । अर्थतन्त्रका आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक समेद्धिका आधार स्तम्भ भएको बताउनुभयो ।
भूमिव्यवस्था, सहकारी तथागरिबि निवारण मन्त्रालयका सचिब राम प्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले अब सहकारी बिना उत्पादन क्षेत्र अघि बढ्न नसक्ने भन्दै उत्पादन वृद्धिका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताउनुभयो ।
सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय सहकारी महासंघ युवा समन्वय उपसमितिका संयोजक तथा संचालक सागर ढकालले युवाहरुलाई उद्यमशिल बनाउनका लागि सहकारी उपयुक्त मोडल भएको बताउनुभयो ।




