
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको संयोजकत्वमा ग्लोबल मनी वीक मनाइने भएको छ । राष्ट्र बैंकका अनुसार यही चैत्र ७ गते देखि १३ गते सम्म ग्लोबल मनी वीक मनाउन लागिएको हो ।
ग्लोबल मनी वीकको २०२२ को नारा ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट हुनुहोस् ’ भन्ने रहेको छ भने नेपालको स्थानीय नारा ‘ सिक्नुहोस्, बचत गर्नुहोस्, कमाउनुहोस् ’ रहेको नेपाल राष्ट्र बैंकले जनाकारी दिएको छ ।
ग्लोबल मनी वीकको उद्देश्य भनेको मानिसहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यावहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी)को संयोजनमा संसारभरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ । नेपालमा पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजकत्वमा देशभरी ग्लोबल मनी विक विभिन्न कार्यक्रम गरी मनाइने छ।
जस अन्तर्गत नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने छ।



