Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारीद्वारा ‘सार्क फाइनान्स ई-न्युजलेटर’ को विमोचन

२०७८ फाल्गुन १६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ‘सार्क फाइनान्स ई-न्युजलेटर’ प्रकाशन गरेको छ। आज आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यसको विमोचन गरे। सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले उक्त ई-न्युजलेटर प्रकाशन गरेको हो।

उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधनसँगै ४१ औं र ४२ औं ‘सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ’ ले अगाडि सारेका नीतिगत प्रयास र त्यसको कार्यान्वयन अवस्थालाई उल्लेख गरिएको छ।

यसैगरी, ई-न्युजलेटर मा सार्क फाइनान्सको साङ्गठनिक कार्यदिशा तथा सार्क फाइनान्स तथ्याङ्कीय पद्धति, प्राविधिक सहायता, तालिम कार्यक्रम, वित्तीय समावेशीकरण, अध्ययन/अनुसन्धान लगायतका पारस्परिक सहायताका क्षेत्र र सार्क पेमेन्ट काउन्सिलको प्रगति प्रतिवेदनलाई समेटिएको छ।

साथै, सार्क क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत प्रयास, सार्क सदस्य राष्ट्रका समष्टिगत आर्थिक निगरानी सूचक र आँकडासँगै समसामयिक आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आलेखलाई समेत ई न्युजलेटर मा समेटिएको छ।

कार्यक्रममा गभर्नर अधिकारीले विमोचित ई-न्युजलेटर ले सार्क राष्ट्रका आर्थिक तथा वित्तीय क्षेत्रको अवस्था, नीतिगत अभ्यास र पारस्परिक साझा विषयलाई समेटेको उल्लेख गर्दै यो प्रकाशन सार्क क्षेत्रको निम्ति उपयोगी सन्दर्भ सामग्री रहने चर्चा गरे।

०७८ कात्तिक २९ (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न ४२ औं सार्क फाइनान्स गभर्मेन्ट ग्रुप मिटिङले २०२२ अक्टोबरसम्मको निम्ति नेपाल राष्ट्र बैंकलाई ‘सार्क फाइनान्स’ को अध्यक्ष चयन गरेको थियो।

‘सार्क फाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरूको सञ्जाल हो। सार्क राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा ‘सार्क फाइनान्स’को स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले ‘सार्क फाइनान्स’ लाई औपचारिक मान्यता दिएका थिए।