
बैंकिङ खबर/ छिमेकी देश भारतमा पछिल्लो समय डिजिटल बैंकिङलाई प्राथमिकता दिन थालिएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका अनुसार भारतको बैंकिङ क्षेत्रमा भुक्तानी, साना फाइनान्स बैंकहरु लगायतका नयाँ बैंकिङ मोडेलहरु अबलम्बन गरिएका छन् । भारतको डिजिटल पेमेन्ट सिस्टमको अवस्था विभिन्न २५ मुलुकको तुलनामा उत्कृष्ट रहेको दावी गरिएको छ । भारतको बैंकिङ प्रणालीमा २७ वटा पब्लिक सेक्टरका बैंकहरु छन् भने २६ वटा प्राइभेट सेक्टरका बैंकहरु छन् ।
त्यस्तै, ४६ वटा विदेशी बैंक, ५६ वटा क्षेत्रीय ग्रामीण बैंक, १,५७४ वटा अर्बान कोअपरेटिभ बैंक र ९३,९१३ वटा रुरल कोअपरेटिभ बैंकहरुले भारतमा वित्तीय सेवा दिइरहेका छन् । साथमा केही कोअपरेटिभ क्रेडिट इन्स्टिच्युसनहरुले पनि सेवा दिइरहेका छन्। बैंकिङ प्रणालीमा भएको ७० प्रतिशत सम्पत्ति पब्लिक सेक्टरका बैंकहरुमा रहेको छ ।
भारत सरकार एवम् केन्द्रीय बैंकले खराब कर्जाको न्युनिकरण, विद्युतीय भुक्तानी प्रणालीको विकास एवम् साना तथा मझौला उद्योगमा लगानी विस्तारलाई प्राथमिकतामा राखेर योजनाहरु तर्जुमा गरेका छन् । बैंकहरुले आफ्नो कारोबार मोबाइल फोनको प्रयोगबाट गर्न ग्राहकहरुलाई प्रेरित गरिरहेका छन् । आरबिआईले मोबाइल वालेट र बैंक एकाउन्टबीचमा रकम ट्रान्सफर गर्न अनुमति दिएसँगै मोबाइल वालेटको लोकप्रियता पनि बढ्ने अपेक्षा गरिएको छ ।
अव्यवस्थित रुपमा रहेको रिटेल क्षेत्र पनि डिजिटल भुक्तानी प्रणालीमा सम्भावना रहेको छ । सेन्टर फर डिजिटल फाइनान्सियल इन्क्लुजनको तथ्यांकअनुसार, ६३ प्रतिशत रिटेलर्स मोबाइल तथा कार्ड भुक्तानी जस्ता डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा इच्छुक देखिएका छन् ।
नयाँ बजेटमै प्राथमिकता

भारतको सन् २०२२/०२३ को बजेटमै डिजिटल बैंकिङलाई प्राथमिकता दिइएको छ । अर्थमन्त्री निर्मला सितारामले भारतीय तल्लो सदन लोकसभामा बजेट प्रस्तुत गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिइएकी थिइन् । डिजिटल बैंकिङको सुविधा हरेक क्षेत्रमा गरिने र किसानलाई डिजिटल सेवा प्रदान गरिने बताइएको छ । बजेटमा किसानका लागि धेरै ठूलो राहत दिने घोषणा गरिएको छ ।
कोभिड महामारीमा डिजिटल बैंकिङ

कोभिडका विभिन्न लहरहरुले आक्रान्त बनेको भारतमा पछिल्लो समय डिजिटल बैंकिङले प्राथमिकता पाएको छ । महामारीमा डिजिटल बैंकिङमा तीव्र वृद्धि भयो ।
कोरोना महामारीमा धेरै भारतीयहरुले धेरैजसो बैंकिङ आवश्यकताहरू घरबाटै पूरा गरे । उनीहरु अनलाइन र मोबाइल दुवै डिजिटल च्यानलहरूमा फर्किए । फलस्वरूप, बैंकका शाखाहरूमा जानुपर्ने अवस्थामा परिवर्तन भई बैंकिङ कारोवारका लागि बैंक नै जानुपर्ने अवस्था अन्त्य भएको छ ।
मार्च २०२० देखि, बैंकहरूले आफ्नो डिजिटल फुटप्रिन्टहरू बैंकिङ क्षेत्रमा विस्तार गरिसकेका छन् । बैंकहरूले ग्राहकहरूलाई भिडियो केवाइसी, निक्षेप र निकासी, आउटवार्ड रेमिटेन्स, भुक्तानी संकलन आदि मार्फत सेवाहरूको दायरा प्रदान गर्न डिजिटल च्यानलहरू प्रयोग गरिरहेका छन् ।
गत वर्षको अन्तमा, भारतको राष्ट्रिय भुक्तानी निगमले प्रयोगकर्ताहरूलाई स्थानान्तरण गर्न अनुमति दिन व्हाट्सएप प्रस्तावलाई अनुमोदन गरेको थियो । जसबाट सन्देश एप मार्फत पैसा प्राप्त गर्न सकिने व्यवस्था गरिएको थियो ।
महामारीले बैंकिङ र वित्तीय कार्यहरू लगायत आर्थिक गतिविधिमा बाधा पुर्याएको अवस्थामा, आरवीएल बैंकले स्वास्थ्य संकटको समयमा ग्राहकहरूलाई मद्दत गर्न र कोभिड–१९ पछिको युगको लागि तयारी गर्न आफ्ना डिजिटल बैंकिङ पहलहरूलाई तीब्रता दिने महत्वपूर्ण अवसरका रुपमा लिएको थियो ।
विगत केही महिनादेखि बैंकले कागजविहीन ग्राहक अनबोर्डिङ, आधार र भिडियो केवाइसी, कन्ट्याक्टलेस डेबिट कार्ड, कार्डलेस नगद निकासी, मोबाइलमार्फत ट्याप एण्ड पे, स्क्यान एण्ड पे, भुक्तानी र रेमिटेन्स, यूआइपीमा आधारित संकलन, र च्याटबोट जस्ता सुविधा उपलब्ध गराएको छ । साथै, यसले खुला बैंकिङमार्फत रणनीतिक साझेदारी गर्दै आएको छ ।




