
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाउने भएको छ । राष्ट्रले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको ७७ नम्बर बुदामा ‘विप्रेषण कम्पनीहरुले आप्mना एजेन्ट र सब–एजेन्टमार्फत् स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गरिनेछ,’ भन्ने उल्लेख छ ।
यो नीतिले नेपालभित्र एकठाउँबाट अर्काेठाउँमा रेमिट्यान्स पठाउने सीमा घट्ने छ । हाल देशभित्र १ लाख रुपैयाँसम्म पठाउन सकिन्छ ।
तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले पुँजी बजार र वित्तीय बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन २०७५ साल मंसिरमा राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा एक समिति गठन गरेको थिए ।
उक्त समितिले १ लाख रुपैयाँसम्म आन्तरिक रेमिट्यान्स गर्न पाउने सीमा धेरै भएकाले घटाउनु पर्ने सुझाव दिएको थियो । ‘विदेशबाट हुण्डी गर्दै नेपालमा रकम भित्र्याउने र आन्तरिक रेमिट्यान्सको च्लानल प्रयोग गर्दै एकठाउँबाट अर्को ठाउँमा रकम पठाउने गरिएकालाई हाल कायम आन्तरिक रेमिट्यान्सको सीमा १ लाखलाई घटाउनु उपयुक्त हुन्छ,’ श्रेष्ठ नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।


