
बैंकिङ खबर/ लघुवित्तमा नक्कली ऋणी खडा गरी रकम निकाल्ने करणमा एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन् । नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित चार जना कारागार चलान भएका हुन् ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार दुई सय ७४ रुपैयाँ झिकेको कसुरमा ठाकुरलाई पुर्पक्षको लागि कारागार पठाउने फैसला सुनाएको छ ।
संस्थाका कर्मचारी समेत रहेका पर्सागढी नगरपालिका–७ का २४ वर्षीय गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका–२७ का २६ वर्षीय प्रदीप कुमार पटेल र सोही ठाउँका २४ वर्षीय शेषनाथ कुशवाहालाई जनही १–१ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । तीनै जनाले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका हुन् ।
काभ्रेको धुलिखेल नगरपालिका–३ मा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले उनीहरुविरुद्ध गएको मंसिर २४ गते उजुरी दिएको थियो । अन्य कर्मचारिको सहयोगमा शाखा प्रबन्धक लोहारले ३०८ जना वचतकर्ताको नाममा नक्कली ऋणी खडा गरी ५ करोड ३४ लाख ५५ हजार ४७९ रुपैयाँ हिनामिना गरेको भन्दै संस्थाले जाहेरी दिएको थियो । संस्थाका अनुसार लोहार २० पुस २०७४ देखि शाखा प्रबन्धकमा कार्यरत थिए ।
लोहारले विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारीबिना निजहरूको नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत आफैँले गरेर उक्त रकम निकालेको संस्थाले बताएको छ ।
संस्थाको उजुरपछि प्रहरीले लोहारलाई २४ मंसिरमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अन्य ६ जना व्यक्तिलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।




