
बैंकिङ खबर/ विदेशी मुद्राको सञ्चिति एक महिनामै ४८ अर्ब २३ करोड रुपैयाँले घटेर ११ खर्ब ६५ अर्ब ८० करोडमा आएको छ। नेपाल राष्ट्र बैंकले पुस मसान्तसम्मको विवरण सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति घटेको जनाएको छ । यो भनेको कोभिडअघिकै अवस्था हो। २०७६ चैतमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो।
शोधनान्तर घाटामा पनि चुलिएको छ। महिना दिनमै घाटा ४६ अर्ब २२ करोडले बढेर २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ नाघेको छ। चालु खाता घाटा महिना दिनमै ५३ अर्ब ३८ करोड रुपैयाँले बढेको छ। चालु खाता घाटा ३ खर्ब ५४ अर्ब ७ करोड पुगेको छ। यो भनेको अर्थतन्त्रको आकारको ९ प्रतिशत हाराहारी हो। ८ प्रतिशतमाथि पुग्नु संकट हो।
रेमिटेन्समा सुधार देखिएको छ। मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएकोमा पुसमा ७९ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ। यो पोहोरको पुसको तुलनामा भने कम हो। पोहोर पुसमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ भित्रिएकोमा यसपाली ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ।