
बैंकिङ खबर/ २७ वटा वाणिज्य बैंकको कर्मचारीलाई दिइने तलव भत्ता वापतको रकम १८ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ।
वाणिज्य बैंकहरुले जारी गरेको चालू आव २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरुले कर्मचारी तलवभत्तामा २८ अर्ब २२ करोड रुपैयाँ खर्च गरेका छन्। गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्म यस्तो खर्च २३ अर्ब ९० कारोड रुपैयाँ रहेको थियो ।
वित्तीय विवरणअनुसार कर्मचारी तलवभत्तामा सबैभन्दा बढी खर्च एनआईसी एशिया बैंकले गरेको छ। चालू आवको दोस्रो त्रैमाससम्म यो बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। गत आवको तुलनामा यो बैंकले ३५ प्रतिशतले कर्मचारी तलव भत्तामा खर्च बढाएको हो। गत आवको दोस्रो त्रैमाससम्म यो बैंकले १ अर्ब ३७ करोड रुपैयाँ कर्मचारी तलवभत्तामा खर्च गरेको थियो ।
त्यस्तै दोस्रो बढी खर्च गर्नेमा ग्लोबल आइएमई र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। ग्लोबल आइएमई बैंकका कर्मचारीलाई दिइने तलवभत्ता गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आवको दोस्रो त्रैमाससम्म ६ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ। यो बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ७३ करोड रुपैयाँ कर्मचारीको तलवभत्तामा खर्च गरेको छ।
सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई दिइने तलवभत्ता वापतको रकम गत आवको दोस्रो त्रैमाससम्मको तुुलनामा १७ दशमलव ८२ प्रतिशतले वृद्धि भएर चालु आवको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा बढी खर्च वृद्धि सिटिजन्स बैंकको
गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आवको दोस्रो त्रैमाससम्म कर्मचारीका लागि तलव भत्तामा खर्च सबैभन्दा बढी वृद्धि सिटिजन्स बैंकको छ। यो बैंकको कर्मचारीलाई दिइने तलव भत्ता खर्च ५२ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ।
गत आवको दोस्रो त्रैमाससम्म यो बैंकले कर्मचारीलाई तलव भत्ता बापत दिने खर्च ५५ करोड ९५ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमाससम्ममा वृद्धि भएर ८५ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै नबिल, सिभिल, एनआईसी एशिया, सिद्धार्थ र कुमारी बैंकको कर्मचारी तलव भत्ता शीर्षकमा ३० प्रतिशतभन्दा बढीले रकम वृद्धि भएको छ। त्यसैगरि प्राइम कमर्सियल, ग्लोबल आइएमई, कृषि विकास, नेपाल बैंक र हिमालयन बैंकले कर्मचारीको तलवभत्ता वापत दिने रकम १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।अभियान दैनिकबाट





