
बैंकिङ खबर।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१, स्थित केन्द्रीय कार्यालय भएको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार सञ्चालक समितिका अध्यक्ष लेखनाथ खनियाको अध्यक्षतामा साधारण सभा सम्पन्न गरेको छ । सभामा ६५.८० प्रतिशत शेयर धनीहरुको उपस्थिति रहेको थियो।
संस्थाले गत साउन २२ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोवार गर्न इजाजतपत्र प्राप्त गरेको थियो । यस संस्थाले आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा नेपालका ३७ जिल्लामा १०२ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ। सबै शाखामा ४४० कर्मचारी र ७३ हजार ८० सदस्य रहेका छन्।
संस्थाले हालसम्म १ अर्ब ३७ करोड ३९ लाख ९३ हजार ९३१ बचत संकलन गर्दै ३६ हजार ९९ जना ऋणी सदस्यहरुमा ३ अर्ब ७१ करोड १ लाख २८ हजार २०८ रुपैयाँ लगानी गर्दै वित्तीय सेवा प्रदान गरेको छ । आ.व. ०७७/७८ मा वित्तीय संस्थाले खुद नाफा १० करोड ६४ लाख ४८ हजार ८६६ प्राप्त गर्न सफल भएको छ ।
आ.व. २०७७/७८ को असार मसान्तमा कायम रहेको चुक्तापुँजी २४ करोड ८० लाख ४२ हजार ९२५ को २० प्रतिशतले हुन आउने रकम ४ करोड ९६ लाख ८ हजार ५८५ बराबरको वोनस शेयर प्रदान गर्ने निर्णय पारित गरेको छ।
वित्तीय संस्थाले गत ०७६ फागुन १० गते त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेको छ । गत भदौ १५ गते नै वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न MOU गरेकोमा नेपाल राष्ट्र बैंकबाट गत कार्तिक १ गते सैद्धान्तिक सहमतिसमेत प्राप्त गरिसकेको छ ।




