Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिभिल सहकारी ठगी प्रकरणः निक्षेपकर्तालाई पनि थुन्नुपर्ने बहस !

२०७८ पुष ५ गते


बैंकिङ खबर/सिभिल सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिवादी बनाइएका तत्कालीन अध्यक्ष इच्छाराज तामाङका वकिलले उक्त सहकारीमा निक्षेप जम्मा गर्नेलाई पनि थुन्नुपर्ने बहस गरेका छन् । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जारी थुनछेक बहसमा अधिवक्ता रुद्रप्रसाद पोखरेलले इच्छाराजलाई थुन्ने हो भने निक्षेपकर्तालाई पनि थुन्नुपर्ने बताएका छन् ।

१ हजार ५०३ जनाको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान विभाग सिआइबीको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध दायर गरिएको रिटमा तामाङका तर्फबाट बहस गर्दै अधिवक्ता पोखरेलले थुन्नैपरे निक्षेपकर्तालार्य पनि थुन्नुपर्ने बताए । प्रतिवादीको तर्फबाट सोमबारदेखि थुनछेक बहस शुरु भएको छ । बहसको पहिलो दिन प्रमुख प्रतिवादी बनाइएका इच्छाराज तामाङका तर्फबाट बहसमा उपस्थित भएका अधिवक्ता रुद्रप्रसाद पोखरेल एक्लैले सोमबार ४ घण्टा बहस गरेका थिए । बिहान ११ बजेदेखि शुरु भएको बहस अपरान्ह १ बजेदेखि २ बजेसम्म रोकिएको थियो । त्यसपछि फेरि २ बजेदेखि ४ बजेसम्म पोखरेलले बहस गरेका थिए । इच्छाराज तामाङले ठगी गरेको नभई समयमै ऋण चुक्ता गर्नमात्रै नसकेकाले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने विषयमा उनले बहस गरेका थिए ।

अधिवक्ता पोखरेलले निक्षेपकर्ताको निक्षेप फिर्ता हुन नसक्नुको दोष इच्छाराजलाई दिन नहुने दावी गरे । निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व सिभिल सहकारीकै भएको भन्दै कार्यसमितिमा नरहेको व्यक्ति कुनै पनि कारणबाट दायित्व निर्वाह गर्न बाध्य नहुने दावी गरे । बिना धितो ऋण लिने व्यक्तिभन्दा पनि दिने व्यक्ति जवाफदेही रहने भन्दै तामाङलाई थुनामा राख्नु नपर्ने पोखरेलको दावी छ ।
वादीका तर्फबाट यसअघि नै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताहरु सुदीपकुमार दंगाल, प्रेमराज पौडेल, भीमप्रसाद भुर्तेल र लक्ष्मण उपाध्याय घिमिरेले बहस गरेका थिए । त्यसैगरी पीडितका तर्फबाट पूर्व जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डरी, पूर्व महान्यायाधिवक्ता रमेश बडाल र अधिवक्ता बालकृष्ण न्यौपाने तथा मैयादेवी दाहालले बहस गरेका थिए ।

सिआइबीको अनुसन्धानको आधारमा इच्छाराज लगायत ४२ जनाबाट ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ७९ रुपैया ८२ पैसा रकम अपचलन भएको भन्दै सोही रकम बराबरको बिगो रकम माग गर्दै मुद्दा दायर गरिएको थियो । उनीहरुको थुनछेक बहस मंसिर २९ गतेबाट शुरु भएको थियो ।

 

Ad