
बैंकिङ खबर/विकास बैंकहरुले पुस महिनाको निक्षेपको ब्याजदर बढाएका छैनन् । विकास बैंकहरुले सहमति गरे अनुसार नै ब्याजदर नबढाएका हुन् । तर नारायणी डेभलपमेन्ट बैंक एउटाको मात्र सहमतिभन्दा थोरै विन्दुले ब्याजदर बढी देखिएको छ । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले पुसका लागि पनि मंसिरकै ब्याजदर प्रकाशन गर्ने सहमति गरेका थिए ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले पुसका लागि बुधबार ब्याजदर प्रकाशन गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा १०.२५ प्रतिशत दिने जनाएका छन् ।
नारायणी डेभलपमेन्ट बैंक बाहेक अरु विकास बैंकको व्यक्तिगत मुद्दतिको ब्याजदर स्थिर रहेको छ । पुस महिनाको लागि नारायणी डेभलपमेन्ट बैंकले भने मुद्दति निक्षेपको ब्याजदर सामान्य बढाएको छ ।
यसको ब्याजदर ०.२० प्रतिशतले बढेर १०.५० प्रतिशत पुगेको छ । मंसिर महिनामा यसले मुद्दति निक्षेपमा १०.३० प्रतिशत व्याजदर दिएको थियो । सिन्धु विकास बैंकले मुद्दति निक्षेपमा १०.३८ प्रतिशत ब्याजदर दिएको छ । यस्तै लुम्बिनी विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर १०.२५ प्रतिशत छ ।